काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित, पारदर्शी र सम्मानजनक बनाउन नीतिगत पहल अपरिहार्य भएको बताएकी छन् । साथै, उनले वैदेशिक रोजगारीलाई क्रमशः निःशुल्क बनाउने दिशामा पनि सरकार अगाडि बढ्ने संकेत दिइन् ।

वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले भनिन्, “वैदेशिक रोजगारी अब केवल रोजगारीको विकल्प होइन, यसलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक बनाउनैपर्ने अवस्था आएको छ।”
उनले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूको सीप, अनुभव र पूँजीलाई देशभित्र उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् । साथै, ती श्रमिकहरूको सामाजिक पुनःएकीकरण र सुरक्षाका कार्यक्रमहरू विस्तार गर्न निर्देशन दिँदै, “श्रमिकको सीप र अनुभवलाई राष्ट्रको उत्पादनशक्ति बनाउन सकियो भने वैदेशिक रोजगारीको विकल्प स्वदेशमै सिर्जना गर्न सकिन्छ,” भनिन् ।
प्रधानमन्त्रीसमेत रहेकी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कार्कीले विदेश जाने श्रमिकहरूलाई प्रस्थानपूर्व पर्याप्त सीप सिकाउने र उनीहरूलाई दक्ष श्रमिकका रूपमा तयार पार्ने आवश्यकता औंल्याइन् ।
उनले भनिन्, “वैदेशिक रोजगारीमा उत्पन्न हुने समस्याको समाधानका लागि बोर्डले सञ्चालन गरेको ‘कल सेन्टर’ र ‘टेलिमेडिसिन’ सेवा श्रमिक हितका दृष्टिले उपयोगी छन् । त्यस्तै, सबै कल्याणकारी सेवा अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने बोर्डको पहल पनि प्रशंसनीय छ।”
प्रधानमन्त्री कार्कीले स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्न, सीपमा आधारित उद्यम विकास गर्न र पुनःएकीकरणका कार्यक्रमहरू विस्तार गर्न सरकार प्राथमिकताका साथ अघि बढ्ने बताइन् ।
उनले यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ठोस कार्ययोजना तयार पारेर तत्काल कार्यान्वयनमा जान निर्देशन दिइन् ।











