काठमाडौं । बुधवार नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, आज भने बढेर बन्द भएको हो ।

नेप्से परिसूचक १२.१७ अङ्क बढेर २६०७.४२ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.१४ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.९० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अङ्क बढेको छ ।
नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् मङ्गलवार ५ अर्ब १५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा ३१२ स्टकको ४२ हजार ८७९ पटकको कारोबारमा ४ अर्ब ६८ करोड १९ लाख २२ हजार रुपैयाँबराबरको ९२ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
माबिलुङ्ग इनर्जी लिमिटेडको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हिजोदेखि कारोबारमा आएको यस कम्पनीको सेयर मूल्य ३४ रुपैयाँ ९० पैसा बढेर ३८४ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने नेपाल फाइनान्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ७.४८ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३८ करोड ६१ लाख ५२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको साढे ३२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने राधी विद्युत् कम्पनीको कारोबार रकम साढे ३१ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४१ प्रतिशत बढेको छ । अरू बढेका उपसमूहहरुको वृद्धिदर भने सामान्य घटेको छ । आज होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो ।











