काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेन–जी पुस्तालाई हातेमालो गर्दै सँगसँगै अगाडि बढ्न आह्वान गरेका छन् ।

काठमाडौंमा आयोजित एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सामाजिक न्याय, सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा युवा पुस्तासँग सहकार्य गर्न पार्टी तयार रहेको बताए ।
नेपालले जेन–जी आन्दोलनका केही अगुवा युवाहरू पार्टीमा प्रवेश गरेको जानकारी दिँदै भने– ‘एउटा खुसीको कुरा सुनाउन चाहन्छु आज बिहान मात्रै नेकपा (एकीकृत समाजवादी) कार्यालयमा जेनजी पुस्ताका वार्ताकारमध्ये केही युवालाई पार्टी प्रवेश गराएका छौं। उहाँहरूलाई बधाई दिन चाहन्छु। म अरू जेनजी साथीहरूलाई पनि आह्वान गर्न चाहन्छु — आउनुहोस्, हातेमालो गर्दै अगाडि बढौं । सुशासन, भ्रष्टाचारविरुद्धको लडाइँ र समाजमा देखिएका विकृति–विसंगतिविरुद्ध हामी सँगसँगै उभिऔं ।’
सह–संयोजक नेपालले सामाजिक अभियन्ताहरूसँग पनि सहकार्य गर्न तयार रहेको उल्लेख गरे । उनले भने, ‘सामाजिक अभियन्ताहरूको काँधमा ठूलो जिम्मेवारी छ। मुलुकमा सामाजिक परिवर्तन, सुशासन र जनजीवनको समृद्धिका लागि लागिरहेका सबै अभियन्ताहरूसँग हातेमालो गर्दै अघि बढ्न चाहन्छौं।’
पार्टीको सह–संयोजकमा चयन भएका नेपालले नेपाली कम्युनिष्ट पार्टीलाई नेपाली राजनीतिका साथै समाजको ‘महत्वपूर्ण शक्ति र परिवर्तनका अग्रदूत’को रूपमा अघि बढाइने दाबी पनि गरे ।









