Logo
Logo

हवाई जहाजबाट आएका शिक्षकमा कोरोना देखियो


नन्दा थापा


  • नन्दा थापा

बाजुरा, १० असोज । कोरोना शुन्य भनिएको बाजुरामा पछिल्लो समय धनगढीबाट आएका एक जनामा कोरोना पुष्टि भएको छ । गत मंगलवार धनगढीदेखि बाजुरामा आएको समिट एयरको जहाजमा आएका स्वामीकार्तिक खापर गाउँपालिकाका एक जना शिक्षकमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
कोरोना परीक्षणका लागि सेती प्रादेशीक अस्पताल धनगढीमा स्वाव संकलन गराएपनि बाजुरा पुगेपछि मात्र रिपोर्ट आएर पुष्टि भएको हो । रिपोर्ट पोजेटिभ आएपछि अहिले उनलाई सेल्फ आइसोलेसनमा राखिएको छ भने सो हवाई जहाजमार्फत आएका अन्य शिक्षक र स्थानियलाई घरमा सुरक्षित एकान्तवासमा वस्न भनिएको स्वामीकार्तिक खापर गाउँपालिकाले जनाएको छ ।
स्वामीकार्तिक खापर गाउँपालिकाका स्वास्थ्य संयोजक पारस शाहीका अनुसार सोही जहाजमार्फत आएका स्वामीकार्तिक खापर गाउँपालिकाका अन्य ८ जनालाई घरमै आइसोलेसनमा वस्न आग्रह गरिएको छ । जहाजमा सँगै आउँदा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै उनीहरुलाई एकान्तवासमा वस्न र कुनै स्वास्थ्य समस्या देखिएमा समयमै जानकारी गराउन भनिएको उनले बताए ।
गत ४ गतेबाट विद्यालय खुलेसँगै विद्यालयमा फर्किएका शिक्षकहरुमा समेत कोरोना संक्रमण देखिएको स्थानीयको भनाइ छ । हवाई र सडक यातायात खुकुलो भएपछि मानिसको आउजाउ बढेकाले यसअघि कोरोनाका संक्रमित शून्य भइसकेको बाजुरामा पुनः संक्रमित देखिएकाले सचेत रहन र आवश्यक दुरी कायम गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा. दयाकृष्ण पन्तले कारोनाको रिपोर्ट पोजेटिभ आएको जानकारी प्राप्त भएको र स्थानीय तहले स्वावको संकलन गरेर पठाउने ब्यवस्था गरेमा आफू धनगढीमै रहेकाले आवश्यक समन्वय गर्न सकिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्