अछाम । अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १, गाज्रामा ऐतिहासिक डौठेगडा मेला आज (बुधबार) मनाइएको छ । प्रत्येक वर्ष कात्तिक शुक्लपूर्णिमामा लाग्ने यो मेला करिब २ सय ३५ वर्षदेखि मनाइँदै आएको छ।

यस मेलामा विशेषगरी आफ्ना मनोकामना पूरा होस् भन्ने विश्वासका साथ राँगा र बोका बलिदान गर्ने परम्परा छ । मेला भर्न अछाम, डोटी, बाजुरा, कैलाली, कञ्चनपुर, कालीकोट, सुर्खेत लगायतका विभिन्न स्थानबाट हजारौं मानिस सहभागी हुने गर्दछन् ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका बासिन्दाहरूले विशेष रूपमा मेलामा आउने चलन रहेको छ। यहाँको बरदादेवी माताको शक्तिको विश्वासका कारण मानिसहरू पूजा–अर्चना गर्दै मनोकामना पूरा हुने अपेक्षा राख्छन् ।
मेलाको अर्को आकर्षण न्याउल्या खेल हो, जुन मेलाको दिनदेखि भोली बिहानसम्म चल्ने प्रचलन छ।
इतिहासमा, डौठेगडा मेलाको सुरुवात नेपालमा २–४ राज्य भएका समयमा खप्तडी खड्का र सिकीन्दर खड्काको पालादेखि भएको बताइन्छ।
त्यतिबेला राजाको आदेशअनुसार गाउँका मुखियाहरूलाई पक्राउ गरी कारबाही गरिन्थ्यो। गाज्राका मुखिया सिकीन्दर खड्कालाई पनि पक्राउ गरी बेलखेत, कर्णाली नदी किनारमा लगेका थिए।
त्यहाँ उनलाई मार्ने क्रममा खड्काका मीतहरूले सिकीन्दर खड्काले वरदादेवी मातालाई सम्झेर दुई वर्षमा एक पटक राँगा र बोका चढाउने वाचा गरेका थिए । पछि उनले कर्णाली नदीमा हाम फालेर आफ्नो घर गाज्रामा सुरक्षित फर्के। यसै कारण डौठेगडामा छाडी राँगा र बोकाको बलिदानसहित मेला मनाउने चलन स्थापित भएको मानिन्छ।
आज पनि गाज्राका खड्काहरूले मेलामा पञ्चवाले छाडी राँगा काट्ने परम्परा निभाइरहेका छन्। खड्काहरूले छाडी राँगा काटेपछि मात्र अन्य भाकलका राँगा काटिन्छन् ।









