Logo
Logo

देशभक्तिको नाटक र झन्डाको व्यापार


उमेश बन्जाडे

567
Shares

कुनै पनि मुलुकको राष्ट्रिय झन्डा त्यो देशको सान, मान र सम्मान हो । झन्डा देशको आत्मा हो, हजारौँ शहीदको रगतले रँगिएको अस्मिता पनि हो । राष्ट्रिय झन्डा निष्ठा र बलिदानको प्रतीक हो, जसलाई फरफराउँदा देशभित्रका प्रत्येक नागरिकले आफ्ना नसा–नसामा ‘म नेपाली हुँ’ भन्ने गौरव महसुस गर्न सक्छन् ।

तर दुःखद कुरो, सिंहदरबार जलाउनेका काँधमा झन्डा देखियो, सर्वोच्च अदालत जलाउनेको हातमा पनि झन्डा, देशलाई खरानी बनाउनेको टाउकोमा समेत त्यही राष्ट्रिय झन्डा । आज विभिन्न बहानामा झन्डा बोकेर सडकमा हिँड्नेहरू धेरै छन्, तर हरेकको हातमा रहेको त्यो झन्डा देशको रक्षा होइन, अपराधको ढालजस्तै बन्दै गएको अनुभूति हुन्छ ।

जसले संविधान मिच्छ, जसले भ्रष्टाचार गर्छ, जसले मुलुकको अस्तित्व नै धरापमा पार्न सक्छ उनैका हातमा झन्डा देखिन्छ । जुन दृश्यले देशभक्ति भाव होइन, ढोग प्रदर्शन गर्छ । झन्डा र देशबीचको सम्बन्ध रक्तरञ्जित बलिदानको इतिहास हो, तर आज त्यो इतिहास मनलाग्दी रूपमा सडक र मञ्चमा ठटाइने भाषणमा सीमित गरिएको छ ।

त्रिभुवन विमानस्थलमा आफ्ना लागि विदेशी सहयोग माग्दै झुक्ने नेताहरूको टाउकोमा पनि राष्ट्रिय झन्डा हुन्छ । कस्तो विडम्बना ? जो नेता विदेशी दस्ताबेजमा हस्ताक्षर गरेर देशको नीति नै बेच्दछ, उसले झन्डालाई आफ्नो नाटकको पर्दा बनाउँछ । जसको पेट विदेशी दूतावासको चिठ्ठीले भरिन्छ, उसले पनि ‘राष्ट्रियता’को रटान लगाउँछ । आखिर कसरी यो परिवेशको सिर्जना भयो ? किन राष्ट्रिय प्रतीकहरूको पवित्रता माटोमा मिसाउने खेलखण्ड भइरहेका छन् त ?

जब भ्रष्टाचार, स्वार्थ र अवसरवाद राज्यको आत्मा बन्छ, तब राष्ट्रिय प्रतीकहरू पनि चोखो रहँदैनन् । अहिले हाम्रो झन्डालाई पनि केवल सत्ता प्राप्तिको उपकरण जस्तै बनाइएको छ । कुनै पनि विरोध प्रदर्शनमा, जुनसुकै तोडफोड र आगजनीमा, राजनीति स्वार्थका मञ्चहरूमा झन्डा बोक्नेहरूको जमात देखिन्छ । तर त्यही भीडभित्र जनताको नाङ्गो घाउ लुकाइन्छ । झन्डा बोकेर सरकारी भवनमा आगो लगाउनेहरू ‘क्रान्तिकारी’ कहलिन्छन्, तर अस्पतालमा औषधि नपाएर मर्ने नागरिकको टाउकोमाथि झन्डा ओढाइदिने कोही हुँदैनन् ।

आज झन्डा देशभक्तिको प्रतीक होइन, ठगहरूको ‘ब्राण्ड’ जस्तै बनेको छ । जसले विदेशी शक्तिको दलाली गर्छ, उसैले बडो घमन्डका साथ झन्डा बोकेको छ । जसले विद्यालयमा सडेको खाना बाँड्छ, उसले पनि झन्डाको आडमा देशको सेवा गर्छु भनिरहेको छ । जसले न्यायालयमा चोरहरूलाई निर्दोष साबित गराउँछ, उसले पनि झन्डा ओढेर ‘राष्ट्रको रक्षक’को भूमिका खेलेको वकालत गर्दछ ।

राष्ट्रिय झन्डाको अर्थ र मूल्य बुझ्न हाम्रा पुर्खाहरूको सङ्घर्ष सम्झनुपर्छ । गोरखा दरबारदेखि कर्णालीको चट्टानसम्म, भूमिबाट विदेशी सिपाही हटाउने योद्धाहरूले झन्डाको रङ्ग आफ्नो रगतले बनाएका थिए । आज आएर एकातिर त्यो रगतको रंगलाई सस्तो राजनीतिक भाषणले फिका पारिदिएको छ भने अर्काेतिर हाम्रो देशभक्ति भाव पनि विज्ञापनजस्तै बनेको छ, जसमा झन्डा ओढेर उभिएपछि जुनसुकै अपराध पनि ‘राष्ट्रको हितमा’ ठान्नु पर्ने ।

झन्डा ओढ्दैमा कोही राष्ट्रवादी हुँदैन । देशभक्ति भनेको रगत उमाल्ने कुरा होइन, दिमाग र आत्मा समर्पण गर्ने कुरा हो । झन्डा बोकेर सडकमा हिँड्न सकिन्छ, तर देशका लागि आफ्नो स्वार्थ त्याग्न नसक्नेले त्यो झन्डा बोक्ने अधिकार राख्दैन ।

हाम्रो समस्या के हो भने, हामीले झन्डालाई चिनेर होइन, देखेर प्रेम गर्न सिक्यौँ । त्यसैले जसले ठूलो भीड जम्मा गर्छ, जसले माइकमा ठूला नारा लगाउँछ, उसैलाई देशभक्त ठानिहाल्ने हामी आमनेपालीको एउटा गम्भीर कमजोरी हो ।

झन्डा केवल हावामा फरफराउने वस्तु होइन, यो देशको आत्मसम्मान हो । तर जब अपराधीको काँधमा त्यो फरफराउँछ, तब राष्ट्रको आत्मा रोइरहेको हुन्छ । सिंहदरबार जलाउनेले ‘व्यवस्था सुधार्न’ भन्दै झन्डा बोकेको दृश्य केवल एक राजनीतिक व्यङ्ग्य होइन, यो हाम्रो सामूहिक चेतनाको काँचो प्रमाण हो । सर्वोच्च अदालत जलाउनेले झन्डा बोकेर देशभक्ति देखाउँछ, अनि नागरिकले ताली बजाउँछौँ किनभने, हामीले आजसम्म पनि अपराध र देशभक्तिको सीमाना छुट्याउन सिकेका छैनौँ ।

आज हामीले झन्डाको दुरुपयोग रोक्न नसके भोलि संविधानको पनि व्यापार हुनेछ । जब प्रतीक नै बिक्छ तब देशको अस्मिता कहाँ बाँकी रहन्छ ? झन्डा बोक्नेहरूलाई सम्मान दिइन्छ । तर झन्डाको मर्म जोगाउनेहरूलाई उपेक्षा गरिन्छ । स्मरण रहोस्– जब झन्डा अपराधीको पहिचान बन्न थाल्छ, तब नागरिकले देशभक्तिमाथि शंका गर्न थाल्छन् । यही शंका नै राष्ट्रको अस्तित्व अन्त्यको सुरुवात हुन सक्छ ।

हामीभित्र झन्डा बोकेरभन्दा झन्डाको मूल्य बुझेर देश बचाउन सकिन्छ भन्ने भावनाको जागृत हुन जरुरी छ । झन्डाको मर्म बुझ्ने व्यक्तिले कहिल्यै राष्ट्रका सम्पत्ति जलाउन सक्दैन । उसले देशको सर्वोच्च न्यायालय होइन, अन्याय जलाउँछ, भ्रष्टाचार जलाउँछ, बेइमानी जलाउँछ । तर आजको वास्तविकता त्यसको ठ्याक्कै उल्टो बनेको छ । जहाँ अन्याय र भ्रष्टाचारले हाम्रो देशको झन्डा बोकेको छ ।

झन्डा हल्लाउँदै माटोको स्वाभिमान बेच्नेहरूलाई हामी नेपालीले विगतमा पनि झेलेका हौँ र आज पनि त्यही दृश्य दोहोरिँदै छ । फरक केवल पात्रको हो, चरित्रको होइन । इतिहासका पानाहरू पल्टाउँदा केहीले ब्रिटिसको सहयोगमा सत्ताको कुर्सी जोगाउन राष्ट्रिय झन्डा हल्लाए, केहीले दरबारको खुट्टा समातेर ‘देशभक्ति’को अभिनय गरे ।

झन्डा त्यतिबेला पनि सत्ताको आड थियो, आज पनि सत्ताको ढाल बनेको छ । र त्यही ढालको आडमा माटो बेचिन्छ, निष्ठा बेचिन्छ, अस्मिता बेचिन्छ । झन्डा हल्लाउँदै सिंगो राष्ट्रको स्वाभिमान बन्धक राख्नेहरू कहिल्यै देशभक्त हुँदैनन् । उनीहरू इतिहासका व्यापारी मात्र हुन्, जसले मातृभूमिको मुटुमा व्यापार गर्छन् । अब हामीले नयाँ युगको घोषणा गर्नुपर्छ, जहाँ झन्डा पाखण्डको ढाल होइन, जनताको आत्मा बनोस् । जहाँ झन्डाको मूल्य भाषणले होइन, आचरणले तोकियोस् । जहाँ झन्डा हल्लाउने हात स्वच्छ होस्, जसमा कुनै बेइमानीको दाग नभेटियोस् ।

अब झन्डालाई अपराधीको काँधबाट हटाएर नागरिकको हृदयमा राख्ने परिपाटीको विकास हुन जरुरी छ । झन्डा कुनै दलको होइन, कुनै आन्दोलनको होइन, कुनै नेताको होइन । बरु यो त आम नेपालीको हो, जसले देश चलाउँछन् । जसले झन्डालाई ढाल बनाउँछ, उसले विगतदेखि नै देशको मुटुमा छुरा हान्दै आइरहेका इतिहास हाम्रो सामुन्ने थुप्रै छन् । त्यसैले राष्ट्रिय झन्डाको दुरुपयोग रोक्न राज्यले स्पष्ट कानुन बनाउन जरुरी छ ।

राष्ट्रिय झन्डाको प्रतीकात्मक गरिमा जोगाउन झन्डा बोकेर ढोग गर्नेहरूलाई अपराधी ठहर गर्नुपर्छ । झन्डा बोकेर सत्ता खोज्ने, झन्डा बोकेर देश बेच्ने, झन्डा बोकेर शहीदको रगतमाथि नाच्नेहरूलाई ‘देशभक्त’ होइन ‘देशद्रोही’को अभियोग लगाएर कानुनी कठघरामा उभ्याउन सक्ने ल्याकत अबका राज्य सञ्चालकहरूले राख्न सक्नु पर्छ ।

– लमही दाङ, हालः साउदी अरेबिया

प्रतिक्रिया दिनुहोस्