काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर २६०० विन्दुभन्दा तल झरेको छ । बिहीबार नेप्से परिसूचक ११.२९ अङ्क घटेर २५९६.१२ विन्दुमा झरेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.०८ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.८१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अङ्क घटेको छ ।

नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधवार ४ अर्ब ६८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३२० स्टकको ५० हजार ४३७ पटकको कारोबारमा ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । दरमखोला हाइड्रो इनर्जी र माबिलुङ्ग इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । माबिलुङ्ग गत मङ्गलवारदेखि कारोबारमा आएको कम्पनी हो भने दरमखोला आजदेखि करोबारमा आएको हो । त्यस्तै, उपकार लघुवित्त वित्तीय संस्था र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको सम्पदा लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट् शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३० करोड ९१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, राधी विद्युत् कम्पनीको साढे ३० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम साढे २७ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो । घटेका उपसमूहहरुको गिरावटदर पनि १ प्रतिशतभन्दा कम रहेको छ ।











