Logo
Logo

बलात्कारीलाई हदैसम्मको कारबाही गर्न माग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले बझाङको मष्टा गाउँपालिका–२ निवासी १२ वर्षीय नाबालिका सम्झना विकको शंकास्पद अवस्थामा हत्या भएको घटना निन्दनीय भएको बताएकी छन् ।
आइबतार प्रेस विज्ञप्ति जारी गर्दै उनले प्रारम्भिक विवरणअनुसार सम्झनाको बलात्कार गरी हत्या गर्ने जघन्य अपराधमा संलग्न जो कोही भएपनि तत्काल पक्राउ गरी हदैसम्मको कारवाही गर्न सरकारसँग माग गरेकी छन् ।
गएका केही महिनायता देशभरि नै दलित समुदाय विरुद्ध आक्रमण र हिंसाका घटनाहरु बढ्दै गएका छन् । रुकुम पश्चिममा नवराज विकलगायतका ६ जना युवाहरुको नृशंस हत्यापछि मधेशमा पनि दलित समुदाय विरुद्ध हत्या र हिंसाका घटना भएका छन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको देशव्यापी विरोध हुँदा पनि अहिलेसम्म सरकारले दोषी पत्ता लगाउन सकेको छैन । देशभरि यसरी दण्डहीनताको स्थिति बढ्दै जाँदा त्यसको पहिलो शिकार महिला र बालबालिका नै हुने अन्तर्राष्ट्रिय अनुभवहरुले देखाएका कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेतृ संगौलाले भनेकी छन्, ‘नेपालको संविधान २०७२ ले नागरिकको जीउधनको सुरक्षा राज्यको प्रमुख दायित्व भनेको छ तर कोरोना महामारी नियन्त्रण होस् वा रोग र भोकसँग जुधिरहेका जनतालाई राहत दिने काम होस् वा शान्ति सुरक्षा कायम गर्न नेकपा सरकार असफल हुँदै गएको छ । यो सरकारबाट सुशासनको अपेक्षा गर्नु वैशाख÷जेष्ठको मध्याह्न गर्मीमा शीतलताको अपेक्षा गर्नु जत्तिकै हो ।’

प्रतिक्रिया दिनुहोस्