Logo
Logo

हिमालयलाई ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ असोज । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकिरणलाई निर्देशन दिएको छ ।
पर्यटनमन्त्री भट्टराईले आइतबार प्राधिकरणका महानिर्देशन राजन पोखरेललाई मन्त्रालयमा बोलाएर हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको अनुमति दिएका बारेमा जानकारी लिँदै अहिलेलाई उक्त निर्णय यथास्थितिमा राख्न आग्रह गरेको मन्त्रालयको स्रोतले बताइएको छ ।
मन्त्रीले हिमालय एयरलाइन्सको प्राविधिक क्षमता, व्यावसायिक प्रस्ताव, जनशक्तिलगायत सम्पूर्ण कुराको अध्ययन गरेर मात्र थप निर्णय लिन निर्देशन दिएको बुझिएको छ । मन्त्री भट्टराईले यस्ता संवेदनशील निर्णय गर्दा मन्त्रालयको उच्च नेतृत्वलाई जानकारी गराएर मात्र गर्न पनि निर्देशन दिएका छन् ।
पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई पनि सँगै राखेर मन्त्री भट्टराईले मन्त्रालयको उच्च तहसँग कुनै पूर्वजानकारी र सहमति नलिई उक्त निर्णय लिएका बारे महानिर्देशकसँग जवाफ मागेको प्राधिकरण जनाइएको छ ।
केही दिनयता हिमालयलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिइएको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आएको थियो । पर्यटनमन्त्री, सचिव र महानिर्देशकबीच भएको सो छलफलमा मन्त्री भट्टराईले मापदण्ड पूरा नगरी ग्राउण्ड ह्याण्डलिङ लिएका अरु कुनै एयरलाइन्स भएपनि तीनको ग्राउण्ड ह्याण्डलिङ सेवा पनि नेपाल एयरलाइन्सलाई दिन निर्देशन दिएको हो ।
एयर इण्डिया र थाई एयरवेजले आवश्यक मापदण्ड पूरा नगरी ग्राउण्ड ह्याण्डलिङ सेवा उपयोग गर्दै आएको स्रोतले जनाएको छ । प्राधिकरणको ग्राउण्ड ह्याण्डलिङ निर्देशिका २०७२ को परिच्छेद २ को दफा ४ मा ग्राउण्ड ह्याण्डलिङका लागि त्रिभुवन विमानस्थलमा हप्तामा ३५ उडान गर्ने एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ अनुमति दिने सक्ने प्रावधान छ । हिमालय एयरलाइन्सको हप्तामा ४५ उडान अनुमति स्वीकृत भएको प्राधिकरणले जनाएको छ । राससबाट

प्रतिक्रिया दिनुहोस्