भक्तपुर । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले अबदेखि औषधि, सर्जिकल सामग्री र उपकरण खरिद गर्दा अनिवार्य रूपमा बोलपत्र प्रक्रिया अपनाउन निर्देशन दिएको छ।

अघिल्ला वर्षहरूमा जिल्ला अस्पतालहरूले बिचौलियाको दबाबमा औषधि टुक्राटुक्रा पारेर सिधैँ खरिद गर्दै अनियमितता गरेको पाइएपछि मन्त्रालयले यो कडाइ गरेको हो।
स्वास्थ्यमन्त्री किरण थापामगरका अनुसार अब रु १० लाखसम्मको सामान खरिदमा पनि बोलपत्र आह्वान गर्नै पर्नेछ। उनले भने, “बिचौलियाको चलखेल रोक्न र पारदर्शिता कायम गर्न यो निर्णय कार्यान्वयनमा ल्याइन्छ।”
मन्त्रालयले १३ वटै अस्पताललाई चालु आर्थिक वर्षदेखि नै यो नीति लागू गर्न निर्देशन दिएको छ। बिचौलियाको दबाब, धम्की र गलत प्रभावले स्वास्थ्य कर्मचारीहरू त्रसित बनेको भन्दै मन्त्रालयले यस्तो गतिविधि रोक्न सिङ्गो सरकारको सहयोग मागेको छ।
आपूर्ति महाशाखाका प्रमुख अर्जुन सापकोटाले भने, “हामी नियम पालना गर्न चाहन्छौँ, तर बिचौलियाको दबाब र नेताको हवाला दिँदै गरिएको धम्कीले कर्मचारी त्रसित छन्।”
मन्त्रालयका अनुसार अब बोलपत्र प्रणालीमार्फत प्रतिस्पर्धा बढ्ने, गुणस्तरीय सामान प्राप्त हुने र बजेटको बचत हुने अपेक्षा गरिएको छ।














