काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने बताएका छन् ।शनिबार काठमाडौंमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत् आर्थिक बहस २.० लाई सम्बोधन गर्दै अर्यालले यसमा नागरिक स्तरको तहबाट पनि सहयोग आवश्यक रहेको बताए ।

उनले सुशासन दिन सकेन भने द्वन्द्व दोहोरिन सक्ने जोखिम रहेको बताए । उनले भने, ‘सुशासन दिन सकेन भने द्वन्द्व दोहोरिन पनि सक्छ भन्ने एउटा ठूलो म्यासेज अहिले दिएको छ । त्यो अवस्था सत्ता परिवर्तनको मात्रै होइन सुरक्षा संकट नै निम्तिन सक्छ ।’
अहिलेसम्म जेनजी आन्दोलनका क्रममा लुटिएका ७१० वटा हतियार फिर्ता भइसकेको र केही हतियार डढेको पनि जानकारी दिए । मन्त्री अर्यालका अनुसार, केही अझै फिर्ता हुन बाँकी छ। आन्दोलनका क्रममा १४ हजार ५४९ जना फरार रहेकोमा ९ हजार ५२१ जना फिर्ता आइसकेको र अझै पाँच हजार १०५ जना बाहिर रहेको जानकारी दिए ।
गृहमन्त्री अर्यालकाअनुसार अझै ३५ प्रतिशत कैदीबन्दी फरार छन् । ‘कैदीबन्दीहरु अहिलेसम्म १४ हजार ५४९ जना फरार भएकोमा ९ हजार ५२१ जना (६५ प्रतिशत) फिर्ता भइसकेका छन् । केही सङ्ख्या अझै पनि बाहिर छ । पाँच हजार १0५ जना अहिले पनि बाहिर छन्,’ उनले भने ।
गृहमन्त्री अर्यालले थपे, ‘हतियार र कैदीहरूलाई फिर्ता गर्नको लागि पटक पटक सूचना निकालेर आइदिनुस्, हतियार फिर्ता दिनुस् पनि भनेका छौँ । अझै बाहिर हुनुहुन्छ । त्यसलाई विशेष अपरेशन चलाउँछौँ । यसमा नागरिक स्तरको तहबाट पनि सहयोग चाहिन्छ ।’
उनले कानूनी राज्यको जगेर्ना गर्नु आफ्नो दायित्व भएको बताए । सरकार र निजी क्षेत्र एक अर्काको परिपूरक भएको बताउँदै निजी क्षेत्रको दायित्व अर्थतन्त्रको जगेर्ना गरेको बताए ।














