
मोडल मीना परियार सानैदेखि चञ्चल स्वभावकी थिइन् । सबैसँग मिलिहाल्ने र साथी बनाइहाल्ने, परिआए सबैलाई सहयोग गर्ने उनको स्वभाव छ । २४ वर्षीया मीना हाल स्नातक पढ्दै कलाकारितालाई पनि अगाडि बढाउँदैछिन् । उनी भन्छिन्, ‘सानैदेखि कलाकारिता मोहले मलाई पछाइ रह्यो ।’ छोटो समयमा थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनले १० वटाभन्दा बढी फेसन शोहरूमा पनि भाग लिइसकेकी छिन् । अभिनय कला, डान्स र खेलकुदमा रुचि राख्दै आएकी मीनासँग दृष्टिको जम्काभेट :
मोडलिङ क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
जिन्दगीमा केही गर्नुपर्छ भन्ने सोचमा सधैं अडिक थिएँ । साथीभाइले पनि तिम्रो उचाइ राम्रो छ, मिहनेती छौँ भन्दाखेरि निकै सकारात्मक हुन्थेँ । सुरुका दिनमा घर परिवारलाई मनाउन निकै गाह्रो थियो । यस क्षेत्रमा आउनका लागि अहिले आमाबुवा घरका सम्पूर्ण सदस्यहरुले मलाई साथ दिनुभएको छ । थुप्रै फेसन शोमा भाग लिँदाखेरि धेरै कुराहरू सिक्ने मौका पाएँ । अहिलेसम्मको यात्रामा साथ दिनुहुने सम्पूर्णमा नमन गर्न चाहन्छु ।
यस क्षेत्रमा तपाईंको रोल मोडल को हुनुहुन्छ ?
नायिका प्रियंका कार्कीलाई म रोल मान्छु । उहाँको अन्तर्वार्ताहरू सुन्दा ऊर्जा मिल्छ । जसले गर्दा मलाई पनि यो क्षेत्रमा आफ्नो छुट्टै योगदान दिनुपर्छ र मिहेनत गर्नुपर्छ भन्ने लाग्यो । जीवनमा सबै खालका उतावचढाव आएपनि सामना गर्नुपर्छ र सबैलाई माफ दिन सिक्नुपर्छ भन्ने मैले बुझ्ने मौका पाएँ ।
चलचित्रमा आउन कतिको इच्छा छ ?
सानैदेखि ठूलो पर्दामा देख्ने मेरो सपना हो । म सबै खालका चरित्र निर्वाह गर्न सक्छु भन्ने लाग्छ । आफूले गरेको काम अरुले मूल्यांकन गर्दा पनि गौरव महसुस होस् । चलचित्रका लागि पनि अफर नआएको होइन, तर राम्रो स्क्रिप्ट र राम्रो टिमसँग काम गर्ने इच्छा छ । ममाथि धेरैजना आदरणीय व्यक्तिहरूको आशीर्वाद छ । सायद चाँडै नै यो इच्छा र सपना पूरा हुन्छ ।
कलाकारिता क्षेत्रमा आउनका लागि तयारी गर्नुपर्छ भन्छन् नि ? तपाईं कतिको तयारीमा आउनुभएको छ ?
कुनै पनि काम गर्दाखेरि निकै तयारी भएर आउनु आवश्यक छ । किनकि, अहिले निकै धेरै प्रतिस्पर्धा छ । मलाई लाग्छ, एउटा अनुशासित, मिहेनती र धैर्य भएको व्यक्तिलाई धेरै गाह्रो हुन्छ । म यी सबै चिज बोकेर आएकी छु । समय कठिन होला र गाह्रो पनि होला । तर मैले आफ्नो हिम्मत हारेकी छैन । प्रतीक्षाको फल मिठो हुन्छ भन्ने मलाई आशा छ । आफूमा भएको कमीकमजोरीलाई नियालेर, हटाउँदै, नआएका कुराहरू सिकेर, आफूमा लगानी गर्दै आएकी छु । यस क्षेत्रलाई नै आफ्नो जीवन समर्पित गरेकी छु । कलाकारिताबाहेक मैले कुनै कुरा पनि सोचेकी छैन । नाटकका वर्कशपहरू पनि लिँदै आइरहेकी छु ।
ग्लामर क्षेत्र कतिको गाह्रो छ त ?
हरेक क्षेत्रमा हात राख्दाखेरि त्यहाँ अवश्य गाह्रो हुन्छ । त्यसलाई कसरी सहज तरिकाले लिने भन्ने आफूमा भरपर्छ । यस क्षेत्रमा राम्रा मान्छे पनि भेटिन्छन् र नराम्रो मान्छे पनि भेटिन्छन् । कस्ता व्यक्तिहरूसँग संगत गर्ने र नगर्ने भन्ने कुरा आफूमा भर पर्छ । खुट्टा तान्नेदेखि कुरा काट्ने, होच्याउने जस्ता व्यक्तिहरू मैले पनि नभेटेको होइन । तर, म सधैँ सकारात्मक व्यक्तिहरूप्रति मात्र आकर्षित भएँ, उहाँहरुको कुराहरू सुन्ने काम गरेँ । मेरो प्रतिभालाई चिन्ने व्यक्तिहरू सधैँ नै मेरो लागि सकारात्मक भएर उभिनुभयो । मिहेनत गरेर त्यो ठाउँमा पुग्दाखेरि पनि कसरी त्यो ठाउँसम्म पुगिन् भन्ने खालका सोचका व्यक्तिहरू पनि भेटियो । एउटा नारी जो मिहेनती छ, ऊ अगाडि बढ्दा धेरैलाई चासो हुँदो रहेछ ।
यस क्षेत्रमा भविष्य कस्तो देख्नुभएको छ ?
डाक्टर, इन्जिनियर, शिक्षक जस्तै यो पनि सम्मानित पेशा बन्न पुगेको छ । भविष्य खोज्ने भन्दा पनि भविष्य बनाउनेतिर लाग्नुपर्छ । अहिले कलाकारिता क्षेत्रलाई पनि आफ्नो भविष्य बनाउन सकिन्छ । आफूमा निखारता, मिहेनत, धैर्य र सबैसँग मिलनसार हुन आवश्यक छ । हामीभन्दा अग्रज व्यक्तिहरू पनि लामो समयसम्म यही क्षेत्रमा जीवन उपार्जन गर्दै आइरहनु भएको छ । यस क्षेत्रमा लाग्दा चलअचल सम्पत्तिहरू जोड्न धेरैजना सफल हुनुभएको छ । राम्रो कर्म गरेर अगाडि बढ्यो भने यस क्षेत्रमा भविष्य उज्वल छ ।
तपाईँ निकै सुन्दर हुनुहुन्छ, प्रेम प्रस्तावलाई कसरी लिनुहुन्छ ?
मानिसले बाहिरी सुन्दरता भन्दा पनि उनको भित्री सुन्दरतालाई निखार्नु आवश्यक छ । जति सुन्दर भए पनि भित्री रुप, स्वभाव र आनीबानी राम्रो भएन भने उसको सुन्दरता झल्किँदैन । सबैलाई सजिलैसँग अँगाल्न सक्नुपर्छ । सबैको मनमा विश्वास जगाउनु आवश्यक छ । प्रेम प्रस्ताव नआउने भन्ने कुरै भएन । तर त्यसलाई कसरी लिने भन्ने कुरा आउँछ । मलाई माया गर्ने मेरो भगवान रूपी दर्शकलाई आदर र शिर निहुराई ढोग्छु । उहाँले मलाई भन्दा पनि मेरो कलाकारिता क्षेत्रप्रति प्रेम दर्शाउनु भएको जस्तो लाग्छ । म सकारात्मक प्रेमलाई स्वीकार्न चाहन्छु ।
तपाईँ कस्तो जीवनसाथीको खोजीमा हुनुहुन्छ ?
अहिले मेरो ध्यान जीवन साथीमाभन्दा पनि यस क्षेत्रमा एउटा छुट्टै इतिहास कोर्नेमा छ । तर, प्रश्नको उत्तर दिँदाखेरि मलाई र मेरो कलाकारिता पेशालाई बुझ्ने, नारीलाई सम्मान गर्ने, हरेक कुरामा साथ दिने, मेरो भावनालाई बुझ्ने र सधैं अभिभावकत्व ग्रहण गर्दै मलाई सम्झाउने बुझाउने, मेरो आफ्नो आमाबुवालाई पनि आफ्नो आमाबुवा सरह माया गर्ने होस् भन्ने चाहन्छु ।











