काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले भारत भ्रमणका क्रममा तीनवटा घरेलु टोलीसँग मैत्रीपूर्ण टी–२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै टोलीले आउँदो कात्तिक २७ गतेदेखि मंसिर ३ गतेसम्म उत्तराखण्ड, बङ्गाल र राजस्थानसँग प्रतिस्पर्धा गर्ने जनाएको छ ।

सिरिजका सबै खेल देहरादुनको चिदरवालास्थित आयुष क्रिकेट एकेडेमीमा हुनेछन् । नेपालले प्रत्येक टोलीसँग दुई–दुई खेल खेल्ने तालिका तय गरिएको छ। नेपाली टोलीले पहिलो खेल कात्तिक २७ गते राजस्थानविरुद्ध खेल्नेछ। त्यसपछि २८ गते उत्तराखण्ड र २९ गते बङ्गालसँग भिड्नेछ। दोस्रो चरणमा मंसिर १ गते राजस्थान, २ गते उत्तराखण्ड र ३ गते बङ्गालसँग खेल हुनेछ ।
भारत भ्रमणका लागि क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । लामो समयपछि अश्मिना कर्माचार्य टोलीमा पुनः फर्किएकी छन् भने सीमाना केसी पहिलोपटक राष्ट्रिय टोलीमा अवसर पाएकी छन् ।
त्यसैगरी, अलिशा यादव, मनीषा उपाध्याय, सना प्रवीण, ईश्वरी विष्ट, ममता चौधरी र बिन्दु रावल पनि पुनरागमन गरेका खेलाडी हुन् ।
क्यानका अनुसार आउँदो जनवरीमा नेपालमै आयोजना हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको तयारी स्वरूप यो भ्रमण आयोजना गरिएको हो











