काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस आगामी निर्वाचनमा सहभागी हुने बताएका छन् । आज शोभा भगवतीमा नेपाली कांग्रेसका नेता स्व. गणेशमान सिंहको १११औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य र प्रणालीमा विश्वास गर्ने पार्टी भएकाले निर्वाचनबाटै जनतासामु जानुपर्ने बताएका हुन् ।

निर्वाचन नै अहिलेको देशको सङ्कट पार लगाउने आधार रहेको बताउँदै उनले कांग्रेस निर्वाचनमा जान तयार रहेको बताएका हुन् । सिंहले पछिल्ला दिनमा उठेका कांग्रेस विशेष महाधिवेशनका मागबारे टिप्पणी गर्दै भने, ‘नियमित महाधिवेशन नजिक आइरहेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य छैन, अहिलेको प्राथमिकता देशलाई सङ्कटबाट पार लगाउने र जनताको विश्वास जित्ने हो ।’
उनले जेनजीका माग सम्बोधनका लागि पार्टीले आन्तरिक गृहकार्य गरिरहेको र नयाँ पुस्ताको विचार, ऊर्जा तथा आकाङ्क्षालाई पार्टी संरचनामा समावेश गर्नुपर्ने आवश्यकता रहेको बताए ।














