काठमाडौं । बुद्ध एयरका मालिक तथा व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, समाजशास्त्री दिनेश प्रसाईंसहितका व्यक्तिहरू संलग्न गतिशील लोकतान्त्रिक पार्टीलाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ ।

गत ३० असोजमा आयोगमा दल दर्ताका लागि निवेदन दिएको उक्त समूहले सोमबार प्रमाणपत्र प्राप्त गरेको हो । आयोगमा दर्ता विवरणअनुसार पार्टीको अध्यक्षमा दिनेश प्रसाईं र महासचिवमा पियुषप्रसाद कायस्थ रहेका छन्, भने बस्नेत सदस्यका रूपमा संलग्न छन् ।
प्रमाणपत्र लिएकोपछि व्यवसायी बस्नेतले आफूहरू राजनीतिमा प्रवेश गर्नुको उद्देश्य ‘सेवा र सकारात्मक रूपान्तरण’ भएको बताए। उनले भने, “हामी राजनीतिमा सेवा गर्न आएका हौं । राष्ट्र अहिले एउटा निर्णायक मोडमा छ, त्यसलाई सही दिशातर्फ लैजान हाम्रो प्रयास हुनेछ ।”
पार्टीको विधानअनुसार शीर्ष पदाधिकारीहरूले प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिन नपाउने व्यवस्था गरिएको छ। तर, बस्नेत सदस्य भएकाले चुनाव लड्न सक्नेछन् ।
‘गतिशील लोकतान्त्रिक पार्टी’ले अबको नेपालमा नियमसंगत, पारदर्शी र उत्तरदायी राजनीतिक संस्कारको विकास आफ्नो मुख्य लक्ष्य रहेको जनाएको छ।














