काठमाडौं । नेकपा एमालेमा समाहित भएका नेता कृष्णकुमार श्रेष्ठ (किसान)ले एमालेबाट विद्रोह गर्नु आफ्नो जीवनकै सबैभन्दा ठूलो भूल हुन पुगेको बताएका छन् ।

सोमबार एमालेले आयोजना गरेको घर फर्क अभियानमा आफू समाहित भएपछि गरेको सम्बोधनको क्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘हामीजस्ता पार्टीमा फर्कनका लागि आउनुभएका साथीहरूको जीवनको सबैभन्दा सत्य क्षण हो । विगतमा विभिन्न कारणले हामी पार्टीमा विग्रहमा लागेका थियौँ । यो हाम्रो जीवनकै सबैभन्दा ठूलो भूल भयो । यो समयले पनि बताएको छ ।’
‘हामी फेरि जनताको भरोसा जित्नेछौं । हामी फेरि राष्ट्र निर्माणको अग्रपंक्तिमा रहनेछौँ । आज हामी हृदयबाट भन्न चाहन्छौँ, यो फर्काइ केवल राजनीतिक निर्णय होइन । यो जनताको बीच फर्कने यात्राको सुरुवात हो,’ उनले भने ।
आज केही सयको सङ्ख्यामा अभियानमा जोडिएको भए पनि देशभर आफूजस्ता बाटो बिराएकाहरू पुनस् एमालेमा फर्कने दाबी गरे । ‘म विश्वास दिलाउन चाहन्छु यो अभियानको सुरुवातबाट देशभरी किसान श्रेष्ठजस्ता बाटो बिराएका कमरेडहरू यो अभियानमा जोडिनु हुनेछ,’ उनले भने ।














