काठमाडौं । सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा कमल भुसाल उर्फ निकोलस भुसाललाई छाड्न अस्वीकार गरेको छ । भुसालले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै उनीमाथिको छानबिन छिटो सक्न गृह मन्त्रालयको नाममा परमादेश जारी गरेको छ ।

भड्काउपूर्ण अभिव्यक्तिपछि पक्राउ परेका भुसालको बन्दीप्रत्यक्षीकरण रिटमा यसअघि सर्वोच्च अदालतले गृह मन्त्रालयको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।
भुसालले कात्तिक १६ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यस्तै उनले ‘क्षेप्यास्त्र आक्रमण गर्ने’ चेतावनी समेत दिएका थिए ।














