Logo
Logo

विदेशमा रहेकालाई अनलाइन भोटिङको व्यवस्था मिलाउन पूर्व आयुक्तहरूको सुझाव


189
Shares

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले अनलाइन भोटिङको व्यवस्था गरी यो अधिकार कार्यान्वयन गर्न सकिने सुझाव दिएका छन् ।

सोमबार निर्वाचन आयोगमा भएको छलफलमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरू, पूर्वनिर्वाचन आयुक्त तथा पूर्व सचिवहरूले यस्तो धारणा राखेका हुन् ।छलफलमा पूर्वप्रमुख निर्वाचन आयुक्तद्वय सूर्यप्रसाद श्रेष्ठ र नीलकण्ठ उप्रेती, पूर्वकार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ तथा पूर्वनिर्वाचन आयुक्त डा। रामभक्त पीबी ठाकुर सहभागी थिए ।

त्यसैगरी पूर्वसचिवहरू मधुप्रसाद रेग्मी, रविलाल पन्थ, सुरेश अधिकारी र भरतमणि सुवेदी पनि उपस्थित थिए । पूर्वआयुक्तहरूले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने हो भने फागुन २१ गते तोकिएको निर्वाचनलाई वैशाखसम्म सार्न सकिने बताए । उनीहरूले अनलाइन भोटिङ प्रणाली अवलम्बन गरेर यो प्रक्रिया सहज बनाउन सकिने बताए । 

यता, निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपालको संविधान र विद्यमान कानुनअनुसार तोकिएको मितिमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन आयोग दृढ रहेको स्पष्ट पारे । उनले युवा पुस्ताको आन्दोलन तथा राजनीतिक दलहरूको मागलाई सम्बोधन गर्न स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन नै प्रमुख आधार रहेको बताए । साथै, सुशासन कायम राख्न र भ्रष्टाचार नियन्त्रण गर्न पनि निर्वाचनको पारदर्शिता अपरिहार्य रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्