Logo
Logo

सहसचिवको सरुवा विवाद


4.2k
Shares

काठमाडौं । जेन–जी आन्दोलनपछि निजामति कर्मचारीको सरुवामा कर्मचारीको दबदबा बढेको छ । मंसिर ९ गते वर्तमान मुख्यसचिव एकनारायण अर्यालको अवकाश हुँदै गर्दा कर्मचारी सरुवामा दबदबा बढेको हो । राजनीतिक हस्तक्षेपबाट हुने गरेको सरुवामा अहिले सचिव, प्रशासन प्रमुख नै हाबी भएका छन् ।

मंसिर ९ पछि को मुख्यसचिव हुने भन्नेमा अझै टुंगो लागिसकेको छैन । यसपटकको सरुवमा कर्मचारीहरुले राजनीतिक शैलीमा सरुवा गरिदिएका छन् । भौतिक, शहरी तथा लेखा अधिकृतहरुको सरुवा हुन बाँकी रहेपनि अन्य मन्त्रालयको सरुवामा भने उनीहरू हाबी हुँदा भ्रष्टाचारको आरोप लागेकाहरूले पनि यथोचित स्थान पाएका छन् ।

अन्तःशुल्क स्टिरकर छपाइ खरिदमा मुछिएका सहसचिव रितेशकुमार शाक्य चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालमा आएका छन् । न्याम्समा कार्यरत सहसचिव मनिता श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयमा सरूवा गर्दै शाक्य न्याम्समा आएका हुन् । अन्तःशुल्क स्टिरकर छपाइ खरिदमा तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालसँगै भ्रष्टाचार मुद्दा लागेर विशेष अदालतबाट सफाइ पाएका कर्मचारी हुन् उनी । न्याम्समा सहसचिवको दरबन्दीको आवश्यकता र औचित्यमाथि बहस भइरहँदा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शाक्यलाई ल्याइएको हो ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अरूण पोखरेललाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सरूवा गरिएको छ । सहसचिवको दरबन्दीको औचित्य पुष्टि हुन नसकेको पाँचथरका सिडिओ पोखरेललाई बेपत्ता आयोगमा थन्क्याइनु पनि कारण रहेको छ । श्रीमती र छोरा अष्ट्रेलिया रहेका कारण उनी सरुवा हुने वित्तिकै बिदा मिलाएर दुई महिना उतै जाने तयारीमा छन् । इमानदारपूर्वक काम गरिरहेका पोखरेललाई रमेश लेखकले बरण्डामा थन्क्याएर राखेका थिए । त्यसपछि पाँचथर पठाइएका पोखरेललाई सात महिनामै सरुवा गरेर अष्ट्रेलियाका लागि बिदा मिलाइएको छ ।

यसपटकको सरूवामा सबैभन्दा बढी सहसचिव सञ्चार तथा सूचना प्रविधि मन्त्रालय भित्रिएका छन् । सहसचिवहरू बाहिरिनेमा पनि सञ्चार मन्त्रालय नै अग्रपङ्क्तिमा छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता सुभाषचन्द्र शिवाकोटी भित्रिएका छन् । उनी लेखा समूहका उपसचिव विवादित छविका कर्मचारीहरू हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रशासन महाशाखा प्रमुख कोषहरि निरौला भने कोशी प्रदेश पुगेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका आईटीका सहसचिव सुभाष ढकाल पनि सञ्चार मन्त्रालय आएका छन् । आईटीका खेलाडी अस्गर अलीका विश्वासपात्र ढकाल सूचना प्रविधि विभागको महानिर्देशक बन्न सञ्चार आएका हुन् । सूचना तथा प्रविधि विभागका उपमहानिर्देशक मुकेश रेग्मी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरूवा भएका छन् । उनी आइटी क्षेत्रकै विज्ञ भए पनि अली अस्गरको टिमले कर्नरमा पारेको थियो ।

आन्तरिक राजस्व विभागको आईटी हेर्ने उपमहानिर्देशक श्रीचन्द्र साह पनि सञ्चारतिरै पुगेका हुन् । आन्तरिक राजस्व विभागको उपमहानिर्देशक हुने गरी हालै सहसचिव भएका रामदत्त भट्ट अर्थ मन्त्रालय पुगेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव रविलाल शर्मा पनि सञ्चार मन्त्रालयतिरै सरूवा भएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै सहसचिव प्रेमप्रसाद पोखरेल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पुगेका छन् ।

गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका सचिव (सहसचिव) नवराज ढकाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत सरूवा भएका छन् । बागमती प्रदेशका नीति योजना आयोगका सचिव (सहसचिव) केशवराज सुवेदी पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत नै सरूवा भएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नारायणप्रसाद अर्याल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव देवराज जोशी भने सुदूरपश्चिम प्रदेशतिर लागेका हुन् । मधेश प्रदेशका गृह, कानुन तथा सञ्चार सचिव उद्धवप्रसाद रिजाल कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत सरूवा भएका छन् ।

यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा रिजालले नक्कली लाइसेन्स प्रकरणको छानबिन गराएका थिए । सोही प्रकरणमा टोकराज पाण्डे, गोगन हमाल लगायतका १० जना तत्कालिन महानिर्देशकलाई छानबिन गरेपछि उनी आँखाको तारो बनेका थिए ।

खानेपानी मन्त्रालय लुम्बिनी प्रदेश सरूवा भएका रामबाबु पुरी बागमती प्रदेशतिर सरूवा मिलाएका हुन् । सुदूरपश्चिम प्रदेशतिर रहेका विरेन्द्रकुमार मिश्र मधेश प्रदेशतिर झरेका छन् । कर्मचारी ‘मारवाडी’को उपाधि पाएका मिश्रलाई मधेश पठाएपछि प्रशासनसँग उनको ठूलै साठगाँठ रहेको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्