Logo
Logo

आयल निगममा प्रदीप यादवको रजाइँ


2.9k
Shares

काठमाडौं । नेपाल आयल निगममा वरियताका हिसाबले ३०औं नम्बरका कनिष्ट कर्मचारी प्रदीप यादवको हालीमुहाली चल्ने गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्ट पनि उनका अगाडि निरीहजस्तै देखिने गरेका छन् ।

चण्डिका भट्ट र प्रदीप यादव

कार्यकारी निर्देशकमुनिका निगमका वरिष्ठहरूलाई दिनुपर्ने जिम्मेवारीसमेत यादवलाई दिन उनी बाध्य छन् । उनकै डिजाइनअनुसार निगमको इन्जिनियरिङ तथा परियोजना बिभागलाई टुक्र्याउन लागिएको छ । उक्त बिभाग यादवको योजनामा तीन टुक्रा पारी सूचना प्रबिधि बिभाग, पाइपलाइन बिभाग र इन्जिनियरिङ बिभाग बनाउन लागिएको छ ।

इन्जिनियरिङ तथा परियोजना बिभागको प्रमुख अहिले बिनितमणि उपाध्याय छन् । उपाध्यायसँग बोलचालसमेत नभएकाले यादवले उनको बिभाग नै टुक्रा पारी निगमको ब्ययभार बढाउनेगरी तीन वटा बनाउन एमडी भट्टलाई बाध्य पारिसकेको स्रोतले बताएको छ । उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हामार्फत् बिभाग टुक्राउन दबाब दिइरहेका छन् ।

यादव प्राविधिक कर्मचारी हुन् । निगममा विभिन्न विषयसँग सम्बन्धित दर्जनौं इन्जिनियर कार्यरत छन् । छैटौंदेखि नवौं तहसम्मका पचासौं इन्जिनियर कार्यरत रहे पनि यादवको मात्र निगममा राज चल्ने गरेको छ । उनलाई निगमले एकपछि अर्को गर्दै निरन्तर ठुला र महत्वपूर्ण जिम्मेवारी दिने गरेको छ । खासगरी निगमको ठूल्ठूला ठेक्का आयोजना जति सबै उनकै भागमा पर्ने गरेको छ ।

यसरी मालदार ठेक्का आयोजना सधैं यादवकै भागमा मात्र किन पर्छ त भन्ने विषयमा निगमकै कतिपय कर्मचारी अनभिज्ञ छन् । निगमका एक कर्मचारीका अनुसार यादवले नेपालका केही ठुला मिडियाका पत्रकार आफ्नो वसमा रहेको भन्दै भट्टलाई तर्साएर सबै आकर्षक परियोजनाको जिम्मा लिने गरेका छन् । यादवले हवाई इन्धन डिपो सिनामंगल, थानकोट डिपो, अमलेखगन्ज डिपो प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । जसलाई निगममा भन्सार भनेर चिनिने गरेको छ ।

निगमले सञ्चालन गरेका विभिन्न परियोजनामध्ये केन्द्रीय कार्यालय भवन निर्माण परियोजना र इआरपी परियोजना गरी दुईवटाबाहेक अन्य सबै परियोजनाका प्रमुख उनै यादव छन् ।

खासमा यादव निगममा एमालेनिकट कर्मचारी भनेर चिनिन्छन् । तर उनले मन्त्रीदेखि मिडियासँगको सम्बन्ध देखाएर निगममा तल्लो तहका कर्मचारीदेखि कार्यकारी निर्देशकसम्मलाई थर्काउने गरेको एक कर्मचारीले दृष्टिलाई बताए । निगमका ट्रेड युनियनहरूलाई समेत उनले आफू अनुकूल चलाउने गरेका छन् ।

उनीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रक्सौल–अमलेखगञ्ज पाइपलाइन निर्माणका क्रममा ७८ करोडको अनियमितता भएको उजुरी परेको थियो । तर यादवले अख्तियारमै पहुँच पुर्याएर सो मुद्दा तामेलीमा राख्न सफल भएको स्रोतले बतायो ।

विभिन्न शक्तिकेन्द्र केन्द्रसँग मिलेर उनी निगममा ठूल्ठूला परियोजना सञ्चालनको योजना तयार गर्ने, सेटिङमा ठेक्का दिलाउने काममा माहिर मानिन्छन् । उनले बजेटबिनै टेन्डरसमेत प्रकाशन गर्दै आएका छन् । टेन्डर निकालेपछि निगम व्यवस्थापनलाई शक्तिकेन्द्रको दबाबमा बजेट विनियोजन गर्न लगाउने गरेको एक कर्मचारीले बताए ।

टेन्डर खोल्नुभन्दा अगाडि नै उनी ठेकेदारलाई काममा लगाउँछन् र पछि त्यही ठेकेदारलाई उक्त ठेक्का दिलाउने गरेका छन् । रुपन्देहीको रोहिणीखोला र चितवनको लोथरमा जग्गा सम्याउने परियोजनामा यादवले ‘लखनौं लूट’ मच्चाएको नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले बताए । अहिले उनी धनगढीमा निगमको डिपो कार्यालय राख्न भन्दै फेरि जग्गा खोज्दै हिँडेका छन् । यसका लागि पहिले नै निगमको लाखौं रुपैयाँ खर्च भइसकेको छ ।

नवौं तहका उपनिर्देशक यादव हाल हवाई इन्धन डिपो सिनामंगल प्रमुख हुन् । उनैलाई निगमले क्षमता अभिबृद्धिका नाममा सुरु गरेका विभिन्न आयोजनाहरूको प्रमुखसमेत जिम्मेवारी दिएको छ । झापा, लोथर र रोहिणीखोलास्थित निगमको जग्गा नापजाँचको जिम्मेवारी, सर्लाहीको ग्यास पाइपलाइन परियोजना, अमलेखगन्जको भण्डारगृह निर्माण परियोजना, पोखरा विमानस्थलमा हवाई इन्धन भण्डारण गृह निर्माण परियोजना, रुपन्देहीको रोहिणीखोलामा तटबन्ध निर्माण परियोजनासमेतको जिम्मेवारी उनैलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्