काठमाडांै । भ्रष्टाचारबिरुद्ध भएको जेन–जी आन्दोलनबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरू एकपछि अर्को विवादमा पर्दै गएका छन् । बिभिन्न क्षेत्रमा शंकास्पद लगानी भएको भनिएको डोल्मा इम्प्याक्ट फन्डलाई करछुट दिने निर्णय गरेकोमा अर्थमन्त्री रामेश्वर खनाल विवादमा आए । ऊर्जामन्त्री कुलमान घिसिङ भारतसँग बिद्युत खरिद गर्दा ४३ करोड घाटा पारेकोमा विवादमा परेका छन् ।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतम पनि कर्मचारी सरुवामा विवादमा परेकी छिन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटामार्फत् बिगतमा विभिन्न काण्ड लागेकाहरुलाई सेटिङमा सबैभन्दा आकर्षक महाशाखा प्रमुखमा सरुवा गरिएको आरोप छ । स्वास्थ्य सेवा बिभाग अन्तर्गतका आयोजनाहरूको परिचालन गर्ने अर्बाैं बजेट भएको परिवार कल्याण महाशाखाको प्रमुखमा बिगतमा काण्डैकाण्ड लागेका डा. मदन उपाध्यायलाई सरुवा गरिएको छ ।
सचिव देवकोटामार्फत् नै सेटिङ गरी उपाध्यायलाई सबैभन्दा बढी बजेट भएको महाशाखाको जिम्मेवारी दिएको स्रोत बताउँछ । उपाध्याय स्वास्थ्य मन्त्रालयमा अति नै विवादित कर्मचारी हुन् । स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको प्रमुख हुँदा आईभीएफ सेन्टरहरू संचालन गर्न उनले दररेट तोकेर अनुमति दिएको आरोप लागेको थियो । आइभीएफ सेन्टरसँग एउटा बराबर २० देखि २५ लाख लिएको भन्दै संसददेखि मिडियासम्म चर्को बिरोध भएको थियो । र, उनी एक किसिमले जिम्मेवारीबिहीन जस्तै बनाइएका थिए । मन्त्रालयको भवन जलेपछि आइभीएफको अनुमतिमा भएको सेटिङको फाइल डढे । तर यो काण्ड सेलाएको छैन ।
त्यस्तै, उनीमाथि अस्पतालको अनुमगम, निरीक्षण र स्तरबृद्धि गर्दा समेत मोलमोलाइ गरेको हस्पिटल संचालकहरुको गुनासोपछि महाशाखा प्रमुखबाट हटाउन मन्त्रालय बाध्य भएको थियो । विगतको ओली सरकारका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले विवादै बिबादमा परेपछि महाशाखाबाट एक किसिमले कारबाही गरेका उपाध्यायलाई सचिव देवकोटामार्फत् सेटिङ मिलाएर जेन–जीको आन्दोलनबाट आएकी मन्त्री शर्माले झन् महत्वपूर्ण ठाउँमा जिम्मेवारी दिएकी छिन् ।
त्यसैगरी मन्त्री शर्माले नारायणी अस्पताल वीरगंजको मेडिकल सुपरिटेन्डेन्ट(मेसु) समेत सेटिङमै डा. चित्तरन्जन साहलाई बनाइएकोमा बिरोध भइरहेको छ । सचिव देवकोटामार्फत् नै कुरा मिलाएर उनलाई मेसु बनाइएको स्रोतको दाबी छ ।
त्यस्तै गजेन्द्रनारायण सिंह अस्पतालको मेसुमा डा. नागेन्द्र यादवलाई सेटिङ मिलाएर सरुवा गरिएको पत्र थमाइएको छ । । डा. नागेन्द्रलाई पत्र दिए पनि भोलिपल्टै पुनः प्रकाश साहकै थमौती गरिएको पत्र दिएर मन्त्री शर्माले गाईजात्रा प्रदर्शन गरेको चर्चा मन्त्रालयमा छ ।
तर जागिरको प्रलोभन देखाउँदै नर्सलाई यौनप्रस्ताव राखेको अडियो सार्वजनिक हुनासाथ डा. प्रकाश साह कात्तिक २० गते नै भागेर स्वास्थ्य मन्त्रालयमा आएका थिए । उनले अन्यत्रै सरुवा गरिदिन हारगुहार गरेपछि डा. नागेन्द्र यादव नै मेसुमा जान पाएका थिए । त्यसपछि सेटिङमा भएको सरुवा बाहिर आएको थिएन । गजेन्द्रनारायणको मेसुमा पनि आर्थिक लेनदेन गरेको आरोप छ ।
स्वास्थ्य सेवा बिभागको सबैभन्दा आकर्षक औषधि खरिद गर्ने महत्वपूर्ण ब्यवस्थापन महाशाखाको निर्देशममा डमी (क्षमताबिहीन) केशव पण्डितलाई सरुवा गरिएको छ । सचिव डा. विकास देवकोटाले नै सबै रिमोट कन्ट्रोल हातमा लिने र औषधि खरिदको सबै सेटिङ मन्त्रालयबाटै गर्नेगरी मन्त्री शर्मालाई कन्भिन्स गरी पण्डितलाई लगिएको स्रोतको दाबी छ । स्वास्थ्य मन्त्रालयको उक्त महाशाखाबाट अर्बौंको औषधि खरिद हुने गरेको छ ।
पण्डित अति नै सोझा प्रकृतिका भएकाले व्यवसायीसँग सचिवले डिल गर्ने र मन्त्रीलाई बुझाउने गरी डिल गरिएको स्रोत बताउँछ । मन्त्री शर्माको नाम लिंदै सचिव देवकोटाले गरेको अनावश्यक हस्तक्षेप र सेटिङको दबाब झेल्न नसकेर स्वास्थ्य सेवा बिभागका महानिर्देशक टंक बराकोटीले अढाई बर्ष जागिर अवधि हुँदाहुँदै राजीनामा दिएका छन् ।
स्रोतका अनुसार सचिवको औषधि उपकरण व्यवसायीसँग डिल गर्नुपर्ने दबाब कै कारण बराकोटीले राजीनामा दिएका हुन् । फिल्डमा जाँदा मन्त्रालयका सचिव देवकोटाको आनीबानीका कारण पनि कर्मचारीहरू आजित हुने गरेका छन् ।











