
काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । एमाले बाहेकका ७४ सांसदको हस्ताक्षरसहित दलहरुले आज सर्वोच्च पुगेर मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध रिट हालेका हुन् ।
सोमबार प्रदेश प्रमुख सुमित्रा भण्डारीले दलहरुलाई छलेर एमाले संसदीयय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेर होटलमा शपथ ग्रहण गराएकी थिइन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि दलहरुले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । उक्त रिट निवेदनको पेसी बुधबारलाई तोकिएको छ ।
रिट लिएर नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइन सहितका नेताहरू सर्वोच्च अदालत पुगेका थिए ।














