Logo
Logo

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री


252
Shares

काठमाडौं । झापा महिला गोल्डकपले टिकट बिक्रीबाट हालसम्मकै सर्वाधिक रकम आम्दानी गरेको छ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न फुटबल प्रतियोगितामा ५८ लाख बराबरको टिकट बिक्री भएको हो ।

प्रतियोगिता अवधिभर ५८ लाख तीन हजार रुपैयाँको टिकट बिक्री भएको छ । फाइनल खेलमा मात्र ३० लाख दुई हजार ४०० रुपैयाँको टिकट बिक्री भएको आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए । 

पहिलो सेमिफाइनलमा पाँच लाख ५० हजार ७०० रुपैयाँ र अन्तिम सेमिफाइनल खेलमा ११ लाख पाँच हजार ५०० रुपैयाँ बराबरको आम्दानी भएको आयोजकले जनाएको छ । क्वार्टरफाइनलका चार खेलमा टिकट बिक्रीबाट ११ लाख ४४ हजार ४०० रुपैयाँ आम्दानी भएको आयोजकले जनाएको छ ।

उद्घाटन खेलको दिन दुई लाख ८८ हजार रुपैयाँ टिकट बिक्री भएको हो । महिला फुटबलप्रति बढ्दो चासो, स्थानीय खेलाडीको सहभागिता र विभागीय टोलीको प्रतिस्पर्धाले दर्शकको आकर्षण बढेको हो । 

कात्तिक ३४ गते सम्पन्न प्रतियोगिताको क्वार्टर फाइनलका खेलहरूमा साधारणतर्फ १ सय र २ सय तथा भिआइपीतर्फ ६६ जनालाई १ हजार रुपैयाँ टिकट दर तोकिएको थियो ।

त्यस्तै, सेमिफाइनलका दुई खेलमा साधारणतर्फ २ सय र ३ सय तथा भिआइपीतर्फ ६६ जनालाई १ हजार रुपैयाँ तथा फाइनलमा साधारणतर्फ ३ सय र ५ सय तथा भिआइपीतर्फ ६६ जनालाई १ हजार रुपैयाँ टिकट दर तोकिएको थियो  ।

प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जित्यो । एपिएफलाई १० गोल अन्तरले हराउँदै पुलिसले १० लाख १० हजार रुपैयाँ हात पार्‍यो। प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्