Logo
Logo

सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो


441
Shares

काठमाडौँ । राष्ट्रिय गौरवका आयोजनामध्ये एक, सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढेको छ । बाँध हेडवर्क्स, विद्युतगृह, हाइड्रो–मेकानिकल उपकरण आपूर्ति र जडानलगायतका संरचना निर्माणका लागि ठेक्का लिएको पटेल–रमण जेभी, जनकपुर–९ धनुषासँगको सम्झौता रद्द गर्ने तयारी आयोजना कार्यालयले सुरु गरेको हो ।

The current image has no alternative text. The file name is: Sunkoshi-marin.jpg

आयोजनाले आज एक सार्वजनिक सूचना जारी गर्दै ठेक्का सम्झौता किन नतोडिने भन्ने विषयमा ठेकेदारलाई स्पष्टीकरण मागेको छ । सम्झौताको ६१ प्रतिशत अवधि सकिँदा पनि भौतिक प्रगति झन्डै १० प्रतिशतमा सीमित रहेको, काममा कुनै तदारुकता नदेखिएको र पटक–पटक सूचना दिए पनि सुधार नभएकाले सम्झौता तोड्ने प्रक्रिया अघि बढाइएको आयोजनाले जनाएको छ ।

यससँगै, कम्पनीले राखेको कार्यसम्पादन जमानत २ अर्ब ४० करोड र अग्रिम भुक्तानी १ अर्ब २० करोड गरी कुल ३ अर्ब ६० करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी जफत गर्ने प्रक्रिया पनि अघि बढाइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले आयोजना निर्माणमा देखिएको ढिलाइबारे गत असोज ७ गते सम्बन्धित सचिव, सिँचाइ विभागका महानिर्देशक, आयोजना प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग विशेष बैठक गरेर गम्भीर असन्तुष्टि जनाएका थिए । उनले सुरुङ निर्माण सम्पन्न भइसकेको अवस्थामा बाँध र विद्युतगृहका संरचना रोकिएर आयोजना अलपत्र पर्नु अस्वीकार्य रहेको बताउँदै नयाँ ढङ्गले आयोजना अघि बढाउनैपर्ने धारणा राखेका थिए ।

पटेल–रमण जेभीसँग करसहित १४ अर्ब ८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । ठेकेदारले अनुमानित लागतभन्दा झन्डै ३२ प्रतिशत कम मूल्यमा काम लिएको थियो । माघ २०७९ देखि निर्माण कार्य थालिएको र असार २०८४ भित्र सम्पन्न गर्नुपर्ने प्रावधान सम्झौतामा उल्लेख थियो । तर हालसम्म भौतिक प्रगति १० प्रतिशत मात्र पुगेको र २ अर्ब १४ करोड करिब १५ प्रतिशत रकम भुक्तानी गरिएको छ ।

आयोजनाको १३.३ किलोमिटर लामो सुरुङ टनेल बोरिङ मेसिन टिबिएम प्रयोग गरेर पहिल्यै खनिएको छ । सिन्धुली र रामेछापको सीमामा रहेको सुनकोशी नदीको पानीलाई बाँधमार्फत सुरुङ हुँदै मरिण नदीमा खसाल्ने र त्यहाँबाट बागमती सिँचाइ आयोजनामा पुगोस् भन्ने उद्देश्यका साथ परियोजना सुरु गरिएको थियो ।

आयोजनाले धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको छ । हाल सिँचाइ सुविधा पाएको क्षेत्रफल करिब ४५ हजार ६ सय हेक्टर मात्र छ ।

सुनकोशीको पानी मरिण नदीमा पथान्तरण गरी ३१ मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्ने योजना पनि यससँग जोडिएको छ । मधेश प्रदेशका उर्वर जिल्लाहरूमा सिँचाइ सुविधा विस्तार गरी कृषि उत्पादन बढाउने, किसानको आम्दानीमा सुधार ल्याउने र जलविद्युत उत्पादनमार्फत देशको अर्थतन्त्र र प्रादेशिक सन्तुलनमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना राष्ट्रिय गौरवको रूपमा अघि बढाइएको हो ।

सुनकोशी–मरिण डाइभर्सन आयोजनाको कुल अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्