अस्ट्रेलिया । अस्ट्रेलियाली वैज्ञानिकहरूले टाउकोमा दैत्यजस्ता साना सिङ भएको नयाँ मौरी प्रजाति पत्ता लगाएका छन्। यसको अनौठो सिङका कारण वैज्ञानिकहरूले मौरीलाई ‘लुसिफर’ नाम दिएका छन्, बीबीसीले जनाएको छ।

पर्थबाट ४७० किलोमिटर पूर्वको पश्चिमी अस्ट्रेलियाको गोल्डफिल्ड क्षेत्रमा ब्रमर रेन्जमा जङ्गली फूलबारे अध्ययन गर्दा खोजकर्ताहरूले ‘मेगाकाइल लुसिफर’ नामक मौरी फेला पारेका हुन्।
‘मेगाकाइल लुसिफर’ मा भेटिएको सिङ विशेष प्रकारको पोथी मौरीमा मात्र पाइन्छ। वैज्ञानिकहरूका अनुसार, पोथी मौरीले ती सिङ परागकरण, रस सङ्कलन वा गुँड बनाउन आवश्यक चिपचिपे पदार्थ जम्मा गर्न प्रयोग गर्न सक्छ।
अध्ययनको नेतृत्व गर्ने कर्टिन विश्वविद्यालयकी डाक्टर किट प्रेन्डरगास्टले भनिन् कि उनले नेटफ्लिक्समा ‘लुसिफर’ सिरिज हेर्दै नयाँ प्रजातिको मौरीलाई ‘लुसिफर’ नाम दिन प्रेरित भएकी हुन्। यो मौरी परिवारमा २० वर्षयता फेला परेको नयाँ प्रजाति हो।











