
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा छाडेको छ । नेकपाका महासचिव विप्लव सीले आज बिहान विज्ञप्ति जारी गर्दै समाजवादी मोर्चाबाट अलग भएको जानकारी दिएका हुन् ।
२०८० साल असार ४ गते चार दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले समाजवादी मोर्चा निर्माण गरेका थिए ।
तर, जेनजी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणाहरूमै व्यापक फेरबदल भएको भन्दै उनले सबै राजनीतिक पार्टीहरू नयाँ खालका एकता र मोर्चाबन्दीमा सहभागी बन्दै गएको अवस्थामा समाजवादी मोर्चाको औचित्य समाप्त भएको निष्कर्ष निकालेका छन् ।
‘व्यापक स्तरमा नयाँ बहसहरु आवश्यक बनेका छन् र बढी पनि सकेका छन्। समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइ सकेका छन्,’ उनले भनेका छन्, ‘यस्तो स्थितिमा आजकै स्वरूपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ। सोही निष्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौँ ।’














