Logo
Logo
नेपाली क्रिकेटको महासंग्रम

एनपीएलः कुन टिम कस्तो बन्यो, कति भित्रिए विदेश खेलाडी ?


डम्मर धामी

378
Shares


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन सुरु हुन अब मात्र छ दिन बाँकी छ । आगामी मंसिर १ गतेदेखि सुरु हुने दोस्रो सिजनका अधिकांश खेल ‘फ्लडलाइट’मा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

पहिलो सिजनझैँ यसपटक पनि सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा हुनेछन् । यस संस्करण झन् रोमाञ्चक हुने अपेक्षा गरिएको छ । टेस्ट राष्ट्रका चर्चित खेलाडीहरूको सहभागिताले एनपीएललाई थप आकर्षक बनाउने विश्वास गरिएको छ ।

पहिलो सिजनमा भारत, पाकिस्तान, न्युजिल्यान्ड, श्रीलङ्का, इंग्ल्यान्ड र दक्षिण अफ्रिकाका नामी खेलाडीहरूको उपस्थितिले एनपीएललाई उल्लेखनीय उचाइमा पु¥याएको थियो । ओडिआई मान्यता प्राप्त राष्ट्रका खेलाडीहरूको सहभागिताले पनि त्यस संस्करणलाई विशेष सफल बनाएको थियो ।

यसपटक पनि पहिलो सिजनझैँ आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ । जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, विराटनगर किंग्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो सिजनमा सुदूरपश्चिमलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्सले उपाधि जितेको थियो । यसपटक पनि उपाधि लक्ष्य बनाउँदै अधिकांश टिमले विश्वप्रसिद्ध खेलाडीहरू अनुबन्ध गरेका छन् ।

कुन टिम कस्तो बन्यो ?
जनकपुर बोल्ट्स
पहिलो सिजनमा प्रशिक्षक पुबुदु दासानायकेको नेतृत्वमा उपाधि जितेको जनकपुरले यसपटक मुख्य प्रशिक्षकदेखि लोगोसमेत परिवर्तन गरेको छ । दोस्रो सिजनका लागि वेस्ट इन्डिजका शिवनारायण चन्द्रपललाई मुख्य प्रशिक्षक नियुक्त गरिएको छ ।

जनकपुरका मार्की आसिफ शेख र कप्तान अनिलकुमार शाह रहेका छन् । पहिलो सिजनका नौ खेलाडी यसपटक पनि टिममा कायम छन् । जनकपुरले आसिफ, कप्तान अनिल, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंसाकार र तुल बहादुर थापालाई रिटेन गरेको हो ।

यसपटक न्युजिल्यान्डका जिम्मी निशम टिममा रहने छैनन् । जनकपुरले इमरान ताहिर, वायने पार्नेल र मिलन्थालाई अनुबन्ध गरिसकेको छ । बाँकी विदेशी खेलाडी घोषणा हुन बाँकी छ ।

काठमाडौं गोर्खाज
काठमाडौं गोर्खाजका लागि करण केसी मार्की खेलाडी हुन् । टिमले भीम सार्की, दीपेश कँडेल, शाहब आलम, प्रतीक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको छ । अक्सनमार्फत उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल आलम टिममा आएका छन् ।

गोर्खाजले विदेशी कोटा पूरा गर्दै दक्षिण अफ्रिकाका रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरास्मस, अमेरिकी ब्याटर मिलिन्द कुमार, इंग्ल्यान्डका बेन चाल्र्सवर्थ, अमेरिकी सन्नी पटेल र जोहन सिम्पसनलाई अनुबन्ध गरेको छ ।

लुम्बिनी लायन्स
राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा लुम्बिनी लायन्स यस सिजनमा सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । पहिलो सिजनमा सोचेजस्तो नखेलपनि पौडेलको व्यक्तिगत प्रदर्शन उल्लेखनीय थियो ।

लुम्बिनीले पौडेलसहित सन्दीप जोरा, विवेक यादव, दिनेश अधिकारी, अभिषेक गौतम र तिलक भण्डारीलाई रिटेन गरेको छ । अक्सनमार्फत दिलीप नाथ, दुर्गेश गुप्ता, शेर मल्ल, आदिल खान र विशाल पटेल टिममा आएका छन् ।

लुम्बिनीले अफगानिस्तानका गुलबदीन नैब, इटालीका बलर थोमस ड्राका र अष्ट्रेलियाका डी’आर्सी सर्टलाई अनुबन्ध गरेको छ ।

चितवन राइनोज
चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन् । टिमले रिजन ढकाल, दीपक बोहरा, अमरसिंह रौतेला, गौतम केसी र कमलसिंह ऐरीलाई रिटेन गरेको छ । अक्सनबाट अर्जुन साउद, देव खनाल, विपिन रावल, रञ्जित कुमार र विपिन आचार्य टिममा आएका छन् ।

चितवनले इंग्ल्यान्डका डेविड मलान, रवी बोपारा, सेफ अली जैब र पाकिस्तानका सोहेल तन्विरलाई अनुबन्ध गरेको छ ।

विराटनगर किंग्स
सन्दीप लामिछानेको नेतृत्वमा विराटनगर किंग्सले उपाधि जित्ने लक्ष्यसहित बलियो टिम तयार गरेको छ । टिमले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस, न्युजिल्यान्डका मार्टिन गुप्टिल, स्कटल्यान्डका जर्ज मन्सी र अष्ट्रेलियाका साम हिजलेटलाई अनुबन्ध गरेको छ । त्यस्तै विराटनगरले प्रतिश जिसी, लोकेश बम, बशीर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ ।

विराटनगरले खेलाडीमा मात्रै नभई प्रशिक्षकमा पनि विषेश ध्यान दिएको छ । उसले नेपाली राष्ट्रिय टोलीसमेत सम्हालिसकेका पहिलो सिजन जनकपुरलाई उपाधि जिलाएका
पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षक बनाएको छ ।

पोखरा एभेन्जर्स
पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल हुन् । टिमले आकाश चन्द, त्रिर्थराज दास, विपिन खत्री, किरण ठगुन्ना, दिनेश खरेल र सागर ढकाललाई रिटेन गरेको छ । अक्सनमार्फत अर्जुन कुमाल, अभिषेक तिवारी, सन्दीप खत्री क्षेत्री र कृष्ण पौडेल टिममा आएका छन् ।

विदेशी खेलाडीका रूपमा इंग्ल्यान्डका विकेटकिपर ब्याटर एडम रोसिङटनलाई अनुबन्ध गरिएको छ ।

कर्णाली याक्स
कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कामी हुन् । टिमले गुलशन कुमार झा, नन्दन यादव, अर्जुन घर्ती, दीपेन्द्र रावत, उनिश विक्रमसिंह ठकुरी र विपिन शर्मा लाई रिटेन गरेको छ । विदेशी खेलाडीमा अष्ट्रेलियाका विल बोसिस्टो र नेदरल्याण्ड्सका म्याक्स ओ’डाउड छन् ।

सुदूरपश्चिम रोयल्स
दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम रोयल्सले पनि बलियो टिम तयार गरेको छ । टिमले विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको छ । अक्सनमार्फत दीपक बोहरा, हेमन्त धामी, मिलन बोहरा, टेकबहादुर रावत र दीपेन्द्र थापा अनुबन्ध भएका छन् । सुदूरपश्चिमले अस्ट्रेलियाका जोस ब्राउन, क्रिस लेन र स्कट कुग्गेलिनलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ ।

फ्लडलाइटमा खेलिने, विदेशी खेलाडीहरूको बाक्लो उपस्थिति र नयाँ व्यवस्थापन प्रणालीसहित सुरु हुन लागेको एनपीएल सिजन २ नेपाली क्रिकेटको अर्को रोमाञ्चक अध्याय बन्ने निश्चित देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्