काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतका १० वाम पार्टी मिलेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निर्माण गरेका छन् । गत बुधबार राजधानीको भृकुटीमण्डपमा एकता राष्ट्रिय सम्मेलन गर्दै माओवादी र एकीकृत समाजवादीसहित नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी–समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिष्ट केन्द्र र देशभक्त समाजवादी मोर्चाले नयाँ पार्टी गठन गरेका हुन् ।

नयाँ पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाललाई चयन गरिएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रचण्ड र नेपालपछिको तेस्रो वरियतामा छन् । नयाँ पार्टीको चुनाव चिह्न तारा राखिएको छ ।
एकतापूर्व तत्तत् दलको चुनाव चिह्नबाट निर्वाचित जनप्रतिनिधि अबदेखि नेपाली कम्युनिष्ट पार्टीका जनप्रतिनिधि भएका छन् । पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल, अचल, बैंक सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिष्ट पार्टीको भएको छ । वाम आन्दोलन विभाजित भएको स्थितिमा १० वाम पार्टीले एकता गरेर आशाको सञ्चार गराएका छन् ।
एकीकृत पार्टीले लिने नीति र अपनाउने कार्यशैलीले भविष्यको बाटो कोर्ने छ । शीर्ष नेताहरूले कार्यशैली सुधारेर अगाडि बढ्ने र आगामी निर्वाचनमा पहिलो शक्तिको रुपमा उदाउने दाबी गरेका छन् ।
एकता राष्ट्रिय सम्मेलनलाई गत बुधबार सम्बोधन गर्दै उनीहरूले आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने दाबी गरेका हुन् । साथै, एकीकृत पार्टीमा जोडिन सम्पूर्ण वामपन्थी शक्तिलाई उनीहरूले सामूहिक आह्वान गरेका छन् । नेताहरूले एकतालाई ऐतिहासिक कदमको संज्ञा दिँदै अब अभियान लिएर जनताकहाँ जाने र चुनावी तयारी पनि सँगसँगै गर्ने बताएका छन् ।
अब एक नम्बर पार्टीः प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले नेपाली कम्युनिष्ट पार्टीलाई देशको एक नम्बर पार्टी बन्न कसैले रोक्न नसक्ने जिकिर गरेका छन् । ‘अब नेपालमा नेकपालाई देशको नम्बर एक पार्टी बन्न कसैले रोक्न सक्दैन । यो एक नम्बर पार्टी त भयो भयो,’ प्रचण्डले भने, ‘कसैलाई टाउको दुखेको पनि हुन सक्छ । कतिपय प्रतिक्रियावादीलाई त राति निद्रा नलाग्ने पनि होला, नलागे पनि नलागोस् ।’
जेन–जी आन्दोलनले वाम घटकहरूलाई एक ठाउँमा ल्याउन भूमिका खेलेको भन्दै प्रचण्डले एकीकृत पार्टी जेन–जीका मर्म र भावनाअनुसार अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले राष्ट्रिय राजनीतिमा देखा परेका चुनौती र संकट समाधानमा पार्टीले भूमिका खेल्ने बताए ।
प्रचण्डले असाधारण एकता भएको भन्दै पार्टी नयाँ ढंगले अगाडि बढ्ने बताए । ‘मलाई संयोजकको रूपमा १० घटकको ठुलो भारी, जिम्मेवारी दिनुभएको छ । मलाई विशेष हर्ष र गर्वको महसुस भएको छ,’ उनले भने, ‘कम्युनिष्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हो । अझै विचार मिल्नेहरूसँग एकता प्रक्रिया अघि बढाउँदै लैजान्छौँ ।’
प्रचण्डले गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चामा रहेका दलका साथै एमाले र कांग्रेससँग पनि हातेमालो गर्न तयार रहेको बताए । ‘१० पार्टी मिल्दैमा पुग्यो भन्ने पक्षमा छैनौँ । अझै एकताबद्ध गर्न तयार छौँ,’ प्रचण्डले भने, ‘समाजवादी मोर्चामा रहेका होस् या अन्य कम्युनिष्ट घटकहरू या एमालेसँग समेत बृहत् एकता गर्न तयार छौँ । राष्ट्र बचाउन तथा लोकतन्त्र र गणतन्त्रको रक्षाका निम्ति सबैसँग हातेमालो गर्न तयार छौँ । गणतन्त्रको रक्षाका लागि कांग्रेससँग पनि सहकार्य गर्छौँ ।’
कम्युनिष्ट पार्टीमा नमर्दासम्म नेतृत्व नछाड्ने प्रवृत्ति ठिक छैन भनेर आफूले विगतमा दस्ताबेज लेखेको स्मरण गर्दै प्रचण्डले नेतृत्व हस्तान्तरण गर्न तयार रहेको जनाउ दिए । ‘अब समय आएको छ भन्ने मलाई लागेको छ । सैद्धान्तिक रूपमा हामी यही पदमा बसिराख्नुपर्छ भन्ने छैन,’ प्रचण्डले भने, ‘नयाँ विचार, विधि र प्रणालीको विकास गरेर फरक भूमिकामा जान सकिन्छ । माधवजी र म छलफल गरिरहेका छौँ ।’
संर्कीर्ण सोचमा बस्न चाहँदैनौँः माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक नेपालले अनेक अड्चनका बाबजुद लामो गृहकार्यपछि पार्टी एकतामा पुगेको बताउँदै आग्रह–पूर्वाग्रह नगरी कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउँदै लैजाने बताए । उनले कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेपाली कम्युनिष्ट पार्टी भएको दाबी पनि गरे ।
‘नेकपाकालका ९ शीर्ष नेताहरूमध्ये ५ जना यहीँ छौँ । प्रचण्ड, म आफैँ, माधव नेपाल, जेएन खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ यही छौँ । त्यसैले मूल पार्टी यही भएको छ,’ उनले भने, ‘विगतको अनुभव समीक्षा गरेर अगाडि बढ्नुपर्नेछ ।’
नेपालले सुशासन, भ्रष्टाचारविरुद्धको अभियान र जनजीविकाको सवालमा जेन–जीहरूलाई सहकार्य गर्न पनि आग्रह गरे । साथै, नेपालले जेन–जीहरू पार्टी प्रवेश गर्न थालिसकेको र एकता राष्ट्रिय सम्मेलन अघि मात्रै केही जेन–जी अगुवालाई पार्टीमा प्रवेश गराएको सुनाए । उनले भने, ‘आज मात्रै केही जेन–जी युवालाई एकीकृत समाजवादीमा स्वागत गरेँ । अरू जेन–जीलाई पनि भन्न चाहन्छु– आउनुहोस्, हातेमालो गर्दै अगाडि बढौँ । सुशासनको पक्षमा, भ्रष्टाचारको अन्त्यका लागि, जनताको जीवनमा परिवर्तन गर्नका लागि, समाजको विकृति– विसंगति र राजनीतिमा देखिएका विकृति अन्त्यलगायतमा हातेमालो गरौँ ।’
उनले एकीकृत पार्टीमा जोडिन सम्पूर्ण वामपन्थी शक्तिलाई आह्वान पनि गरे । पार्टी एकता सम्भव नभए मोर्चा बनाएर पनि जान सकिने उनले बताए । ‘सहकार्य गरेर होस् वा मोर्चा बनाएर होस्, यो संविधानको रक्षा गर्न, संघीयताको रक्षा गर्न गणतन्त्र र संविधानका पक्षमा भएका दलहरूसँग हातेमालो गर्न हामीले पहल गर्नेछौँ ।’ उनले भने, ‘कार्यनीति, रणनीति, मिल्ने सबैसँग एकताको अभियान अगाडि बढाउनेछौँ । हामी सानो दायरामा बस्न चाहँदैनौँ, संकीर्ण सोचमा बस्न चाहँदैनौँ ।’
एकतामा बल पुर्याउन आएँः झलनाथ खनाल
तेस्रो वरीयताका नेता झलनाथ खनालले नेपाली कम्युनिष्ट आन्दोलन एकताबद्ध बनाउन चाहेको बताएका छन् । ‘हामीले पार्टी कहिले फुटोस् भनेर चाहेका होइनौँ । तर, कम्युनिष्ट पार्टीभित्र केही केही कुरा पसे, जसले फुट्दै आएको छ । पसेको चिजलाई पार्टी फुटाउन नसक्ने गरी उखेलेर निकाल्नुप¥यो,’ खनालले भने ।
‘साथै खनालले आफ्नो केही ‘रिजर्भेसन’ रहेको र प्रचण्डले ‘मिलाउँला’ भनेकाले प्रतिबद्धता जनाउन आएको बताए । ‘मैले कमरेड प्रचण्डलाई ‘रिजर्भेसन’ भनिसकेको छु । उहाँले हामी त्यो कुरा मिलाउँछौँ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ खनालले भने, ‘त्यही विश्वासका आधारमा केही विमति भए पनि एकताको विकल्प छैन भनेर एकतामा बल पु¥याउन आएको हुँ ।’
एक करोड सदस्य बनाउन सकिन्छः वामदेव गौतम
नेता वामदेव गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताए । उनले नेता तथा कार्यकर्तालाई उत्पादनमा जोड्नुपर्नेमा जोड दिए । ‘अहिले हामीसँग १०÷१२ लाख पार्टी सदस्य छन् । अब हामी जनताको बिचमा गयौँ भने ६ महिनामा २० लाख पुग्नेछ । एक वर्षमा ५० लाख पुग्नेछ । र, पार्टी सदस्यको संख्या एक करोड पुग्नेछ,’ गौतमले भने, ‘हामीले पार्टीका नेता तथा कार्यकर्तालाई उत्पादनमा लगाउनुपर्छ । संविधानमा लेखिएको समाजवादको विषय पहिला लागू गर्न गरौँ ।’
छुटेकालाई प्नि समेट्छौँः नारायणकाजी श्रेष्ठ
नेता नारायणकाजी श्रेष्ठले सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा पार्टीलाई अगाडि बढाउन सक्नुपर्नेमा जोड दिए । उनले एकता प्रक्रियामा सहभागी नभएका नेताहरूलाई पनि समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘हामी सरकारमा भएको वेला सुशासन, सामाजिक न्याय र समृद्धिको क्षेत्रमा काम गरेका थियौँ । काम गर्दैगर्दा सरकार ढल्यो । हामीले उठाएको त्यही विषय जेन–जी पुस्ताले उठाएर आन्दोलन गरे । हामी त्यो अभियानमा अझ सशक्त भएर लाग्न सक्छौँ । यो प्रक्रियामा छुटेका साथीहरूलाई पनि समेटेर अगाडि बढौँ,’ उनले भने ।
यो पार्टीले निकास दिन्छः महिन्द्रराय यादव
नेता महिन्द्रराय यादवले एकीकृत पार्टीले देशलाई निकास दिने विश्वास लिएको बताए । अनुभवी नेता र उत्साही कार्यकर्ता रहेको भन्दै उनले परिवर्तन सम्भव भएको दाबी गरे । उनले जेन–जी आन्दोलनपछि उत्पन्न संकट समाधानमा प्रचण्ड र नेपालले खेलेको भूमिकाको स्मरण गर्दै नयाँ पार्टीले निकास दिने दाबी गरे । ‘जेन–जीको आन्दोलनमा म, प्रचण्ड र माधव नेपालसँगै थियौँ । मैले एमाले देखिनँ, कांग्रेस देखिनँ । प्रचण्ड र माधवलाई देखेँ । त्यस दिन उहाँहरूले बिहान चार बजेसम्म सक्रिय भएर निकास दिनुभयो । उहाँको काँधमा धेरै जिम्मेवारी छ । यो पार्टीले निकास दिन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने ।
नयाँ पुस्तालाई नेतृत्व छोड्छौँः प्रेमबहादुर सिंह
नेता प्रेमबहादुर सिंहले मुलुकलाई निकास दिनका लागि आफूहरू एकतामा आएको बताए । सबै वामपन्थीहरूलाई एक ठाउँमा जोडेर युवालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको उनले बताए । ‘हामी सबैलाई जोडेर नयाँ पुस्तालाई नेतृत्व छोड्छौँ । नयाँ क्रान्तिको लडाइँमा आउनुहोस् । नेतृत्वको तयारी गर्नुस् । हामी सधैँ नेतृत्वमा बस्दैनौँ,’ उनले भने ।
अध्ययन गरेर फर्किएँः गोपाल किराती
नेता गोपाल किरातीले नेपाली विशेषताको समाजवादमा पुग्न एकता प्रक्रियामा जोडिएको बताए । प्रचण्डसँग सम्बन्धविच्छेदको ८ वर्षपछि फेरि जोडिएको भन्दै उनले एकताबद्ध भएर लक्ष्यमा पुग्ने विश्वास लिएको बताए । ‘वस्तुगत आवश्यकताको आधारमा यो प्रक्रियामा सहभागी भएका छौँ । म खुसी र गौरव पनि गर्दछु । नेपाली विशेषताको समाजवादमा कसरी पुग्नेबारे अध्ययन गरेर म फर्किएको छु,’ उनले भने ।
एकता सम्मेलनले जनाएको २३वुँदे प्रतिवद्धता
१. नेपालको राष्ट्रिय स्वाधिनता, भौगालिक अखण्डता, स्वाभिमान र स्वतन्त्रता अक्षुण्ण राख्न दृढतापूर्वक लागिरहने ।
२. राष्ट्र र जनताप्रति इमान्दार, निष्ठावान र समर्पित भई काम गर्ने ।
३. माक्र्सवाद–लेनिनवादका सार्वभौम सच्चाइहरूप्रति दृढ रहदै तिनलाई नेपालको विशिष्ट परिस्थिति अनुरूप सिर्जनात्मक ढंगले लागू गर्ने ।
४. समाजवादी क्रान्ति र कार्यक्रमप्रति प्रतिबद्ध रही नेकपाले आफ्नो स्थापना कालदेखि राख्दै आएको वैज्ञानिक समाजवाद स्थापनाको महान लक्ष्य प्राप्त गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने ।
५. लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहने र जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै गणतन्त्रको सुदृढीकरण र राज्यका सबै अंगहरूमा आवश्यक सुधार एवम् पुनर्संरचना गर्न अग्रसर हुने ।
६. नेपालको वर्तमान संविधानको रक्षा गर्दै शासकीय स्वरूप र निर्वाचन प्रणाली, संघीयताको सबलीकरण तथा स्थानीय तह र जनप्रतिनिधिको संख्या घटाउनेलगायत विषयमा अग्रगामी परिमार्जन गर्न तत्पर रही पहल गर्ने ।
७. भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीको अन्त गर्न तथा सुशासन, पारदर्शिता, सामाजिक न्याय र मुलुकको समृद्धिका लागि निरन्तर पहल गर्ने ।
८. उच्चस्तरीय अधिकारसम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गरेर हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीहरूलाई कडा कारबाही गराउन प्रभावकारी पहल गर्ने ।
९. राज्यको सेवा प्रवाहलाई छिटो, छरितो र चुस्त दुरुस्त बनाउन र शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवा प्रवाहमा आम जनताको पहुँच स्थापित गर्न विशेष पहल गर्ने ।
१०. वर्तमान नेपाली समाजमा रहेका सबैखाले शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, विभेद, असमानता रविकृति सिङगतिको अन्त्य गर्न संघर्षरत रहने ।
११. महिला, दलित, उत्पीडित, अल्पसंख्यक र सिमान्तकृत समुदाय, आदिवासी जनजातिलगायत राज्यको मूल प्रवाहबाट बहिष्करण र बञ्चितिकरणमा परेका वर्ग, जाति, समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गर्न संघर्षरत रहने ।
१२. अनुसन्धान र विकासलाई उच्च प्राथमिकतामा राखी देशको समग्र विकाश कार्य अघि बढाउने ।
१३. स्वतन्त्र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न, रोजगारी सिर्जना गर्न र गरिवीको अन्त्य गर्न विशेष पहल गर्ने ।
१४. वर्तमान नेपाली समाजको आर्थिक–सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न कृषि, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग, पर्यटन र जलविद्युतको विकासलाई प्राथमिकतामा राखेर विशेष योजनाका साथ देशको विकास गर्न अग्रसर हुने ।
१५. प्राकृतिक स्रोत र साधनको संरक्षण एवम् दिगो उपयोग गर्ने गरी विकासका अभियान सञ्चालन गर्ने ।
१६. जलवायु परिवर्तन र पर्यावरणमैत्री विकास योजना निर्माण तथा विपत् व्यवस्थापन गर्न प्रतिबद्ध रहने ।
१७. जनताका सुख दुःखमा जोडिदै देश र जनताका आवाज जोडदार रूपमा उठाउने ।
१८. जेन्जी पुस्ताका मुद्धा र आकांक्षको संबोधन गर्न प्रतिवद्ध रहने ।
१९. विगतका कामको समग्र समीक्षा गरेर भएका कमी कमजोरीहरू सच्च्याउदै कार्यशैलीमा व्यापक सुधार, पुनर्गठन र रुपान्तरण गर्दै अघि बढ्न तत्पर रहने ।
२०. पार्टीमा आन्तरिक लोकतन्त्रको सुदृढीकरण गर्न र नेतृत्व विकास एवम् हस्तान्तरणको वैज्ञानिक विधि निर्माण गरी लागू गर्न तत्पर रहने ।
२१. पार्टीका सबै नेता तथा कार्यकर्ता उत्पादन र श्रम कार्यमा सम्लग्न हुने ।
२२. कम्युनिष्ट आचरण, अनुशासन र नैतिकताको कडाइका साथ पालना गर्ने ।
२३. सादा एवम् सरल जीवनशैली र पारदर्शी कार्यशैली अवलम्बन गर्ने ।
एकता सम्मेलनबाट पारित ९वुँदे प्रस्ताव
१. एकता प्रक्रियामा सहभागीहरूले नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको छ ।
२. निर्वाचन चिन्ह पाँचकुने तारा राखिने निर्णय गरिएको छ ।
३. एकतामा सहभागी सबै पार्टीका सदस्यहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका सदस्य रहने निर्णय गरेको छ ।
४. एकतामा सामेल सबै पार्टी नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजनको काम गर्ने, यस अगाडि सबै घटकका केन्द्रीय समिति समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय गरेको छ ।
५. केन्द्रीय समितिलाई पूर्णता दिने र संरचनागत समायोजनसम्बन्धी अख्तियारी संयोजक र सहसंयोजकलाई दिने प्रस्ताव गरिएको छ ।
६. विगतमा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित अबदेखि नेपाली कम्युनिष्ट पार्टीका जनप्रतिनिधि हुनेछन् ।
७. पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल, अचल, बैंक सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिष्ट पार्टीको हुनेछ ।
८. नेपाली कम्युनिष्ट पार्टीको अन्तरिम विधान र घोषणापत्र प्राप्त सुझावका आधारमा समेटेर सर्वसम्मति अनुसार पारित गरिएको छ ।
९. नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनबाट अन्तरिम विधान पारित गरिएको छ ।














