काठमाडौँ । बङ्गलादेशले आयरल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै एक पारी र ४७ रनको फराकिलो जित दर्ता गरेको छ।

खेलको चौथो दिनको खाना पछिको सत्रमै आयरल्यान्ड दोस्रो पारीमा २५४ रनमै समेटिँदा बङ्गलादेशले सहजै खेल आफ्नो पक्षमा पारेको हो । आयरल्यान्डका एन्डी म्याकब्राइनले अर्धशतक बनाए पनि टोलीलाई बचाउन पर्याप्त भएन। बङ्गलादेशका हसन मुरादले ३ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ रोजेका आयरल्यान्डले पहिलो पारीमा २८६ रन जोडेको थियो । पल स्टर्लिङ र केड कर्माइकलले अर्धशतक बनाए । त्यतिबेला बङ्गलादेशका मेहदी हसन मिराज ३ विकेटसहित प्रभावशाली रहे।
जवाफी रूपमा बङ्गलादेशले पहिलो पारीमा ८ विकेटको क्षतिमा ५८७ रन बनाउँदै ठूलो अग्रता हासिल गर्यो र आयरल्यान्डलाई फलोअन दियो। मेहदी हसन जोए र कप्तान नजमुल होसैन शान्तोले शतक प्रहार गरे भने मोमिनुल हक, शदमान इस्लाम र लिटन दासले अर्धशतकको योगदान दिए। आयरल्यान्डका म्याथ्यू हम्फ्रेसले ५ विकेट हात पारे।
यो जितसँगै दुई टेस्टको शृङ्खलामा बङ्गलादेशले १–० को अग्रता लिएको छ । दोस्रो टेस्ट नोभेम्बर १९ देखि ढाकामा सुरु हुनेछ।











