काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको पहिलो खेलका टिकटहरू सबै बिक्री भएका छन् । मङ्सिर १ का लागि टिकट सोल्ड आउट भएका हुन् ।

क्यानका प्रवक्ता छुम्बी लामाले पहिलो दिनको सबै टिकट बीक्री भएको जानकारी दिए । खल्ती मोबाइल वालेटबाट टिकट काट्ने सुविधा रहेकोमा, प्रिमियम र साधारण दुवैतर्फको सम्पूर्ण टिकट बिक्री भएका हुन् । पहिलो सिजनको तुलनामा यसपटक अलि ढिलो गरी टिकट सोल्ड आउट भएको हो ।
अहिले सिट सङ्ख्या निश्चित भएकाले टिकट बिक्रीमा पनि सहजता भएको छ । क्यानले खल्तीलाई करिब ८ हजार टिकट बेच्न दिएको छ भने २ हजार जति टिकट खेलाडीका परिवार, प्रायोजक, आयोजकलगायतका लागि छुट्टाइएको छ ।
सोमबारबाट एनपीएल सुरु हुँदै छ । साधारण टिकटको मूल्य उद्घाटन खेल र शनिवारको खेलका लागि ५०० रुपैयाँ तोकिएको छ भने अन्य दिनका खेलका लागि पनि ५०० रुपैयाँ नै तोकिएको छ । प्ले अफ तथा फाइनलका लागि भने साधारण टिकटको मूल्य १००० रुपैयाँ पर्नेछ ।
यस्तै प्रिमियम टिकटको मूल्य उद्घाटन खेल र शनिवारको खेलका लागि १५०० रुपैयाँ तोकिएको छ । अन्य दिनका लागि प्रिमियम टिकटको मूल्य १००० रुपैयाँ छ । प्ले अफ तथा फाइनलका लागि २००० रुपैयाँको प्रिमियम टिकट किन्नुपर्ने छ ।











