Logo
Logo

कलाकार बन्नकै लागि काठमाडौं आएँ


सुनिशा बजगाईँ, कलाकार

693
Shares

पछिल्लो समय युट्युब च्यानलमा सिरियल ‘सीता’ चर्चामा छ । उक्त सिरियलकी मुख्य पात्र हुन् सुनिशा बजगाइँ । ‘सीता’मार्फत चर्चामा आएकी सुनिशा दर्शकमा लोकप्रिय छिन् । अब्बल अभिनय र सुन्दर रुपरंगका कारण पनि सुनिशा दर्शकको मनमा बस्न सफल भएकी छिन् । सिरयिलसँगै म्युजिक भिडियोमा व्यस्त सुनिशा भन्छिन्, ‘कलाकारिता मेरो प्यासन हो ।’ सुनिशा थिएटर कलाकार पनि हुन् । उनीसँग दर्जनौँ नाटकमा अभिनय गरेको अनुभव छ । ‘कला क्षेत्रमै केही गरौँ भन्ने सोचले अगाडि मिहेनत गरिरहेकी छु’, उनी भन्छिन् । कलाकारितामा करिअर भ¥याङ उक्लिँदै गरेकी सुनिशा बजगाइँसँग दृष्टिको जम्काभेट ।

टेलिसिरियल ‘सीता’ किन रुचाइयो ?

‘सीता’को कथावस्तु वर्तमान समाजसँग मिल्दोजुल्दो छ । त्यसैले यो टेलिसिरियललाई दर्शकले औधी रुचाएका छन् । हाम्रो कामलाई दर्शकले माया गरिदिनुभएको छ । हामी कलाकारका लागि दर्शकको माया नै सबथोेक हो । म लगायत टिम खुसी छौँ ।

पछिल्लो समय टेलिभिजनमा काम गर्न कतिको चुनौती छ ?

पहिलेभन्दा टेलिदर्शक घटेको पक्कै हो । तर, जतिले टेलिभिजन कार्यक्रम हेर्नुहुन्छ, उहाँहरूले हाम्रो सिरियल मन पराउनुभएको छ । अरू पनि धेरै टेलिभिजन कार्यक्रमहरू छन् । टेलिभिजन कार्यक्रम मन पराउने दर्शककै कारण धेरै कलाकारहरूले आफ्नो प्रतिभा देखाउन पाएका छन् । साथै, अहिले युट्युबमा पनि दर्शकले सिरियलका दर्शक बढिरहेका छन् । जसले कलाकारलाई सजिलो भएको छ ।

ठुलो पर्दामा देखिने सोच छैन ?

हेरौँ, कामको अफर नआएको भने होइन । कतै कुरै मिलेको छैन । साना-तिना कुराले काम गर्न रोकिरहेको छ । यही क्षेत्रमा निरन्तर काम गर्ने भनेर लागिपरेको छु । त्यसैले ढिलो-चाँडो सिनेमामा पनि पक्कै मलाई देख्न पाउनु हुनेछ ।

होम प्रोडक्सनबाट सिनेमा बनाउने सोच छ कि छैन ?
अहिले खासै योजना बनाएकी छैन । बिस्तारै निर्माणमा पनि आउन सक्छु । फिल्म क्षेत्रमा नयाँ कन्सेप र नयाँ ढंगबाट सिनेमा तयार गर्न सकियो भने राम्रै हुन्छ । यसमा बिचार गर्न सकिन्छ ।

कलाकारिताको यात्रा कसरी सुरु भयो ?

सानैदेखि कलाकारितामा रुचि थियो । मेरो रुचि र रहर देखेर धेरैले ‘तिमी राम्रो कलाकार बन्न सक्छौ’ भन्दै तारिफ गर्थे । बाल्यकालमै सडक नाटकहरू पनि गरेँ । म सुनसरीको मान्छे, त्यसैले रहरले काठमाडौँ आएर यहि काम गर्छु भन्ने सोचेकी थिएँ । जब थिएटरको बारेमा बुझेपछि अभिनयको कक्षा लिन थालेँ । जब सुनिल पोखरेल निर्देशित नाटक ‘जार’ हेरेँ, तब मलाई नाटकमा रुची बढ्यो । अहिलेसम्म दर्जनभन्दा बढी नाटक गरिसकेकी छु । त्यसबीचमा म्युजिक भिडियोहरु पनि गरेँ । यसैक्रममा टेलिसिरियलमा काम गर्ने अवसर आयो । यसरी नै मेरो कलाकारिता यात्रा सुरु भएको हो ।

थिएटरको सुरुवाती यात्रा कस्तो रह्यो ?

राम्रै रह्यो । जब थिएटरको प्रशिक्षण र थिएटरको अभिनयमा चार, पाँच वर्ष बिताएँ तब, थिएटरमा मात्र सीमित हुन नसकिने देखेर म्युजिक भिडियो, फिल्म र टेलिसिरियलतिर काम गर्न थालेकी हुँ । ठुलो पर्दामा काम गर्दा धेरैले चिन्छन् भन्ने लागेर फिल्म ‘इन्टु मिन्टुु’मा साइन गरेँ । त्यसपछि ‘हरी’, ‘पासो’ र ‘प्रसाद’ फिल्ममा काम गर्दै यहाँसम्म आइपुगेको छु ।

थिएटर र फिल्ममा काम गर्दा के भिन्नता पाउनुभयो ?

केही फरक छ । थिएटरको आफ्नै बिशेषता छ, फिल्मको पनि आफ्नै विशेषता छ । तर, थिएटर सानो भएकाले दर्शक सीमित छन् । फिल्ममा धेरै दर्शकले चिन्नुका साथै नाम र कमाइ पनि हुन्छ । पछिल्लो समय थिएटरका धेरै कलाकार फिल्ममा आएका छन् ।

थिएटरको अवस्था अहिले नाजुक हुँदै गएको हो ?

पहिलाको जस्तो चाहिँ छैन । र, त्यस्तो नाजुक पनि छैन । बिस्तारै सुुधार हुँदै गएको छ । अहिले थिएटरमा आउन चाहनेहरू बढिरहेका छन् । यो सकरात्मक हो ।

काठमाडौंमा संघर्ष गर्न कतिको ग्राह्रो भयो ?

म सुनसरीको झुम्कामा जन्मेहुर्केकी हुँ । मेरो कर्मथलो काठमाडौं भएको छ । सुरुका दिनमा यहाँ काम पाउन सहज थिएन । नयाँ ठाउँ, नयाँ मान्छे । त्यसमाथि पनि मेरो पारिवारिक व्याकग्राउन्ड सामान्य थियो । मेरो कला क्षेत्रमा कोही थिएन । बाबा स्कुलको प्रिन्सिपल हुनुहुन्थ्यो भने ममी हाउसवाईफ । त्यसैले सुरुका दिनमा संघर्ष गर्न निक्कै गाह्रो भयो ।

तपाईँलाई नजिकबाट चिन्नेहरूले के भन्छन् ?

म खासै कसैको चित्त दुखाउँदिन । मलाई धेरै बोल्न मन पर्दैन । सबैको राम्रो होस् भन्ने चाहन्छु । आलोचना गर्ने मेरो बानी नभएकोले होला, मेरो पनि खासै ओलोचना गरेको सुन्दिनँ ।

विवाहपछि कलाकारितामा काम गर्न कतिको सहज छ ?

विवाहअघि पनि मैले ममी र बाबाबाट राम्रै साथ पाएकी थिएँ । विवाह भएपछि पनि साथ मिलेको छ । सासु–ससुरा र श्रीमान राज यही क्षेत्रमा भएकोले मलाई काम गर्न सहज भएको छ ।

बैवाहिक जीवन कस्तो चल्दैछ ?
एकदमै खुसी छु । व्यवहारमा यस्तो भयो, उस्तो भयो भनेर चित्त दुःखाउने ठाउँ कतै छैन । श्रीमान तथा परिवार सबै उत्तिकै पे्ररणादायी हुनुहुन्छ ।

हिजोआज कतिको व्यस्त हुनुहुन्छ ?

व्यस्त छु । खाली बस्नुपरेको छैन । टेलिशृङ्खला ‘सीता’ र म्युजिक भिडियो तथा टिभीसीहरूमा काम गर्दै आएकी छु । अहिले एक÷दुई चलचित्रमा कुराहरू भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्