काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सुमना श्रेष्ठसहितको पार्टी बनाउन चाहन्थे । कुलमान घिसिङलाई रास्वपाले सभापतिमा अस्वीकार गरेपछि सुमना श्रेष्ठसहितको पार्टी बनाउन बालेनको सल्लाह थियो । अन्ततः कुलमान घिसिङको अगुवाई नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता भयो तर सुमना श्रेष्ठ त्यो पार्टीमा अटाइनन् ।

कुलमानले सुमनालाई पार्टीमा अटाउन नसकेपछि बालेनको समर्थन पनि नरहेको बुझिएको छ । बालेनको समर्थन नरहेको थाहा पाएपछि घिसिङ अहिले मन्त्री पदबाट राजीनामा दिएर आफै अध्यक्ष बन्नेगरी बाहिर आउन लागेको स्रोतको दाबी छ । उनले रास्वपाका केही नेताहरूसँग कुराकानी गरिरहेका छन् । यद्यपि, यो विषय अझै टुंगोमा पुगिसकेको छैन ।
गत साउन २७ गते ज्ञानेन्द्र तामाङले निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिएका उज्यालो नेपाल पार्टीलाई अद्यावधिक गरी घिसिङले नयाँ पार्टीको घोषणा गरेका छन् । उक्त पार्टीको अध्यक्षमा पूर्वउर्जा सचिव अनुपकुमार उपाध्ययलाई राखिएको छ ।
स्रोतका अनुसार पूर्वसचिवलाई पार्टी अध्यक्ष बनाएपछि अनुपको नेतृत्वमा सुमना जान तयार भइनन् । स्रोत भन्छ, ‘सुमनाले सुरुदेखि नै कुलमानलाई ‘तपाई पार्टीको अध्यक्ष हुनुहोस् । म तपाईको नेतृत्वमा पार्टीमा बस्न तयार छु । तपाईंले सरकारबाट राजीनामा गर्नुहोस । संगठन विस्तारतिर लाग्नुहोस’ भनेकी थिइन् । तर कुलमान अध्यक्ष हुने कि अनुप भन्ने टुंगो लागेको थिएन ।
कुलमानको अगुवाइमा खुल्ने पार्टीमा श्रेष्ठ र हामी नेपालका अध्यक्ष सुधन गुरुङ पनि सहभागी हुने चर्चा थियो । यसका लागि विभिन्न चरणमा छलफल पनि भएको थियो । स्रोत भन्छ, ‘कुलमानलाई पार्टी अध्यक्ष राख्न सुमनाले जोडबल गरिरहेकी थिइन् । कुलमान पार्टी अध्यक्ष भए तत्कालै उनले सरकारबाट राजीनामा गर्नुपर्ने भनिएको थियो । त्यसैले कुलमानले राजीनामा दिने चर्चा पनि भएको थियो । तत्काल सरकारबाट हट्न कुलमान तयार भएनन । त्यसपछि कुलमान र सुमनाको बाटो अलग भयो । त्यसको साथै, गुुरुङ पनि कुलमानको पार्टीमा जान तयार भएनन् ।
घिसिङको अगुवाइमा खुल्ने पार्टीको नाम उज्यालो नेपाल नराखी कुनै अन्य नाम राख्न सुमनाले सुरुदेखि नै लविइङ गरेकी थिइन् । उज्यालो नेपालले एउटा व्यक्ति विशेषलाई अकिंत गर्ने भएकोले सबै अट्ने गरी नयाँ नाम राख्न उनको माग थियो । त्यसैले पार्टीको नाम जनसेवा राख्नेमा करिब सहमति भएको थियो । तर अन्तिम समयमा जनसेवा नाम राख्न कुलमान तयार भएनन् । त्यसपछि सुमना चिढिइन् ।
निर्वाचन आयोगमा जानुअघि काठमाडौंको बौद्धमा भएको छलफलमा पार्टीको नाम जनसेवा नराखी उज्यालो नेपाल राख्ने टुंगो लागेको थियो । पार्टीको नाम उज्यालो नेपाल राख्ने कुलमानको चाहना हो । यसअघि नै घिसिङले आफूनिकट ज्ञानेन्द्र तामाङलाई उज्यालो नेपाल पार्टी दर्ता गर्न अह्राएका थिए । तामाङले गत साउन २७ गते निर्वाचन आयोगमा पार्टी दर्ताको लागि निवेदन दिएका थिए । तर, पार्टी दर्ता गर्न आवश्यक पर्ने सबै काजजातहरू दिएका थिएनन ।
आयोगमा उज्यालो पार्टी दर्ताको लागि थप कागजातहरू उपलब्ध गराइएको छ । अहिले उज्यालो नेपालमा एमालेका पूर्वनेता डा. तारा जोशी, पूर्वपञ्च पद्यसुन्दर लावतीका छोरा प्रा.डा.महेन्द्र सुन्दर लावतीसमेत रहेका छन् । उनी अमेरिकाको पीआरधारी हुन् ।
त्यसैगरी डा. घनश्याम पाण्डे, सागर ढकाल, डा. अभिषेकराज सिंह, डा. शंकर ढकाल, तेजनारायण यादव, रिमा विश्वकर्मा, टासी ल्हान्जोम, डा. राजु थापा, डा. विशाल भण्डारी, श्री गुरुङ, निलिमा बस्नेत, दिपेन्द्र जमरकट्टेल, सीता देवी पाण्डेय रहेका छन् । उनको पार्टीमा रहेका केही व्यक्तिहरू शंकास्पद रहेको स्रोतको दाबी छ ।











