काठमाडौं । जेनजी विद्रोहपपछि पनि भ्रष्टाचारमा कमी आउन सकेको छैन । जेन–जी आन्दोलनपछि निर्मित नागरिक सरकारको मुख्य कार्यभार भ्रष्टाचार नियन्त्रण थियो । तर, जेन–जीको म्यान्डेटअनुरुप काम हुन नसकेको गुनासो व्याप्त छ ।
भ्रष्टाचारकै कारण जेन–जीले प्रदेश सरकार खारेज गर्नुपर्ने माग पनि राख्दैआएका छन् । प्रदेश सरकार भ्रष्टाचारको केन्द्र हुँदै गएको दृष्टान्त बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयबाट भएका उपकरण खरिद र कर्मचारी सरुवाको सेटिङले पनि पुष्टि गरेको छ ।

बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय मातहतका निकायका औषधिदेखि उपकरण खरिदमा ठूलो घोटाला भएको छ । प्रदेश स्वास्थ्यमन्त्री किरण थापामगर र सचिव डा. सुमित्रा गौतमले आपूर्तिकर्तासँग सेटिङ गरी खरिद मूल्यभन्दा दुई गुणा महंगोमा भक्तपुर अस्पतालको सीटी स्क्यान मेसिन खरिद गरेको तथ्य खुलेको छ ।
साढे ३ करोडमा खरिद गरेको मेसिन लुम्बिनी हेल्थकेयरसँग सेटिङ गरी बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले ७ करोडमा खरिद गरेको थियो ।
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालमा गएको जेठ ४ गतेदेखि सीटी स्क्यान मेसिन जडान गरी संचालनमा ल्याएको थियो । प्रदेश सरकारको मातहतमा संचालनमा रहेको भक्तपुर अस्पतालले पीडीआई (प्री–डेलिभरी इन्स्पेक्सन नगरी सीटी स्क्यान आपूर्तिकर्ता कम्पनीलाई ७ करोड रुपैयाँ भुक्तानी गरेको खुलासा भएको छ ।
बोलपत्रमा उल्लेखित स्पेसिफिकेसन अनुसारको सामान भए नभएको रिपोर्ट बायोमेडिकल इन्जिनियरले दिएपछि मात्र भुक्तानीको प्रक्रिया अगाडि बढ्छ । सीटी स्क्यान मेसिनसँगै बोलपत्रमा उल्लेखित सबै सामान जडान नभएकाले बायोमेडिकल इन्जिनियरले रिपोर्ट नै नदिई सचिव गौतमले आपूर्तिकर्ता कम्पनी लुम्बिनी हेल्थ केयरलाई भुक्तानी दिएकी छिन् ।
भक्तपुर अस्पतालमा ६ महिनाअघि सीटी स्क्यान सेवा संचालन भएको भनिए पनि २०८२ कात्तिक अन्तिमसम्म पनि सीटी स्क्यानसँगै जडान हुनुपर्ने एसी, युपीसी मेसिन र प्रिन्टर आपूर्तिकर्ता कम्पनी लुम्बिनी हेल्थ केयरले दिन बाँकी छ । करिब २५ लाख बराबरका मेसिन आपूर्ति र जडान गर्न बाँकी हुँदाहुँदै प्रदेश सचिव डा. सुमित्रा गौतमले लुम्बिनी हेल्थ केयरलाई पूरै ७ करोड रुपैयाँ भुक्तानी दिइसकेकी छन् ।
२५ लाखका सामान नबुझाई र जडान नै नगरी सेटिङमा आकर्षक लाभ लिएर भुक्तानी दिएको आरोप सचिव डा. गौतम र मन्त्री थापामगरमाथि लागेको छ । भक्तपुर अस्पतालमा जडान भएको सीटीस्क्यान मेसिन चीनमा बनेको हो । चीनमा बनेको कम मूल्यमा तयार हुन्छ ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगर र सचिव डा. सुमित्रा गौतमले आपूर्तिकर्तासँग सेटिङ गरी खरिद मूल्यभन्दा दुई गुणा महंगोमा भक्तपुर अस्पतालको सीटी स्क्यान मेसिन खरिद गरेको तथ्य खुलेको छ ।
लुम्बिनी हेल्थकेयरले भक्तपुर अस्पतालमा जडान गरेको सीटी स्क्यानको खरिद मूल्य करिब साढे ३ करोड रुपैयाँमात्र पर्ने अस्पताल स्रोत बताउँछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आपूर्तिकर्ताले खरिद गरेको भ्याटबिल छानबिन गरे पनि प्रष्ट हुने अस्पताल स्रोत बताउँछ ।
लुम्बिनी हेल्थ केयरसँग कमिसनमा सेटिङ मिलाएर खरिद मूल्यभन्दा साढे ३ करोड बढीमा लिइएको छ । पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य उपकरणमा १ करोडको मेसिन १४ करोडमा अस्पतालहरुमा आपूर्ति गरी भ्रष्टाचार हुने गरेको भनेर सार्वजनिक अभिब्यक्ति नै दिएका थिए । भक्तपुर अस्पतालको सीटी स्क्यान मेसिनमा थापाले भनेजस्तै दोब्बर मूल्य बढाएर भ्रष्टाचार गरिएको छ ।
सेटिङमा दोब्बर मूल्यमा खरिद गरिएको सीटीस्क्यानको पीडीआई नगरी भुक्तानी गरेर अर्को गैरकानुनी कार्य बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले गरेकाले कारबाही गर्न माग गर्दै अख्तियारमा उजुरी नै परेको छ ।
पीडीआई नगरी भुक्तानी दिने सचिव गौतमसहित सबैमाथि छानबिन गरी कारबाही गर्न माग गर्दै २०८२ कात्तिक ३० गते अख्तियारमा परेको उजुरीको दर्ता नम्बर सी–०२४५२५ हो ।
उजुरीमा उल्लेख छ–टेण्डरमा उल्लेखित स्पेक अनुसारको सीटीस्क्यान मेसिन भए नभएको प्राबिधिक रिपोर्ट नभई पूरा भुक्तानी दिनु गैरकानुनी कार्य भएकाले भएको हँुदा सो को छानबिन गरियोस् ।
यसअघि अख्तियारले डा. संगीता मिश्रले स्वास्थ्य सेवा बिभागको महानिर्देशक हुँदा थ्रीडी मेमोग्राफी मेसिन खरिदमा पनि पीडीआई नगरी भुक्तानी दिएका कारण भ्रष्टाचार मुद्दा दायर गरेको गएको कात्तिक २ गते विशेष अदालतमा मुद्दा दायर गरेको छ । स्वास्थ्य मन्त्री हुने निश्चित भइसकेकी मिश्रको उजुरीमा छानबिन भइरहेको आयोगको सूचनाकै कारण प्रधानमन्त्री सुशीला कार्कीले उनलाई नियुक्ति गर्न सकेकी थिइनन् ।
मन्त्री थापामगर र सचिव डा. सुमित्राले सीटी स्क्यान मेसिनमात्र होइन, ल्याव मेसिन, एक्सरे मेसिन लगायतका उपकरण खरिद गर्दा पनि सेटिङमा एउटै ब्यक्तिसँग सेटिङ मिलाएर गर्दैआएका छन् । उनीहरुले बिगत ४ वर्षदखि एउटै कम्पनीसँग सेटिङ गरी उसले मात्र ठेक्का पाउनेगरी स्पेक राखेर टेण्डर गर्ने गरेको आरोप छ । मन्त्री र सचिवले अख्तियार लगायतका निकायको आँखा छल्न फरक–फरक कम्पनीबाट प्रस्ताव हाल्न लगाएर विधि पुर्याउने गरेका छन् ।
वरिष्ठ चिकित्सकको अपमान
एमालेका विवादास्पद नेता महेश बस्नेतको निर्देशनमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगर र सचिव डा. सुमित्रा गौतमले भक्तपुर अस्पताललाई प्रालि जस्तै बनाएको आरोप छ । महेश बस्नेतको अत्यधिक हस्तक्षेपलाई बल पुग्नेगरी भक्तपुर अस्पतालमा कनिष्ट चिकित्सकलाई प्रमुखमा राखिएको छ । ५० शैया(बेड)को टोखा अस्पतालमा २ जना सिनियर १० औँ तहका डाक्टर छन् । १ सय शैयाको भक्तपुर अस्पतालमा नवौं तहका कनिष्ट चिकित्सक प्रमुख छन् ।
महेश बस्नेत र किरण थापामगरले सेटिङमा थापाथली प्रसूतीगृहबाट सरुवा गरेर लगिएकी सचिव गौतमले आफ्नो अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि मुख्यसचिव एकनारायण अर्यालसम्म कनेक्सन छ भन्दै खरिद ऐनदेखि स्वास्थ्य सेवा ऐन नियमबिपरीत सेटिङमा काम गर्न तल्लीन हुँदैआएकी छिन् ।
गौतमले सूचना प्रबिधि(आईटी)का सम्पूर्ण काम नेता महेश बस्नेतका निकट ब्यक्तिलाई दिएकी छिन् । औषधि लगायतको ठेक्का गोसाईँकुण्ड सप्लायर्सका अर्जुन सेढाईलाई दिएकी छिन् । टोखा अस्पतालमा १० औं तहका बरिष्ठ चिकित्सक श्रीधर अर्याललाई कनिष्ट डाक्टर नवीन दर्नाललाई टोखा प्रादेशिक अस्पतालको निर्देशक बनाइएको छ । कनिष्ट मातहत राखेर बरिष्ठ डाक्टरको मनोबल गिराउने काम सचिव गौतमले गरेकी छिन् ।
सचिव गौतमको खरिददेखि सरुवाको सेटिङमा एमाले नेता महेश बस्नेतमात्र होइन, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमेतले साथ र सहयोग गर्दैआएका छन् । अस्पतालहरुको उपकरण खरिदको कमिसन मुख्यमन्त्री बानियाँसम्म पुग्ने गरेकै कारण साढे ३ करोडको सीटी स्क्यान मेसिन ७ करोडमा खरिद गरी पूरा समान नै जडान नगरी भुक्तानी दिंदासमेत सचिव गौतममाथि केही कारबाही हुनसकेको छैन । दृष्टिले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहिनन् ।
स्वास्थ्य मन्त्रालयको खण्डन*
-माथि प्रकाशित सामग्रीप्रति स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश सरकारले असहमति जनाउँदै खण्डन गरेको छ । प्रकाशित सामग्रीमा कुनै सत्यतथ्य नभएको, अप्रमाणित र तथ्यहीन भएको र यस समाचारले व्यक्तिगत पेसा एवं मर्यादामा आँच पुगेको भन्दै स्वास्थ्य मन्त्रालयको आग्रहअनुसार यो खण्डन प्रकाशन गरिएको छ ।
नोट : प्रकाशित सामग्री हाम्रा संवाददाताबाट प्राप्त भएको हो । उक्त सामग्रीप्रति सत्यतथ्य के कसो हो भन्ने विषयमा दृष्टिन्युजले खोजी जारी राख्ने छ । दृष्टिन्युज सत्य, तथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्नुपर्ने, कसैमाथि भेद्भाव हुने वा घृणा उत्पन्न हुने किसिमबाट समाचार सम्प्रेषण गर्न नहुने, कसैलाई अनुचित लाभ वा हानी पु¥याउने नियत राखी सामग्री सम्प्रेषण गर्न नहुनेतर्फ सँधै सचेत छ र रहनेछ ।
–सम्पादक
खण्डन प्रकाशित मिति : ११ मंसिर २०८२












