काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारीको निवासमा आज भएको भेटमा उनीहरुबीच मुलुकको समसामयिक परिस्थितिबारे विचारविमर्श भएको जनाइएको छ ।

भेटका क्रममा सञ्चारमन्त्री खरेलले सरकारले गरिरहेको काम, सरकारको प्राथमिकता, आगामी निर्वाचनको तयारीलगायत विषयमा पूर्वराष्ट्रपतिलाई जानकारी गराएका हुन् । खरेलले सरकारले निर्वाचनको माहोल बनाइरहेको र निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी गरिरहेको अवगत गराए ।
सञ्चारमन्त्री खरेलले आगामी निर्वाचनका लागि सबै राजनीतिक दलहरू सकारात्मक रहेको र केही दलले निर्वाचनका लागि शान्ति सुरक्षाको वातावरणका लागि चासो देखाएअनुरुप सरकारले निर्वाचनको सुरक्षालगायत तयारी गरिरहेको पूर्वराष्ट्रपति भण्डारीलाई जानकारी गराए ।
त्यसक्रममा पूर्वराष्ट्रपति भण्डारीले निर्वाचन नै अहिलेको उपयुक्त विकल्प भएकाले मुलुक निर्वाचनको माहोलमा रहेको उल्लेख गरे । उनले सबै राजनीतिक दलहरू निर्वाचनमा सहभागी हुनुपर्ने र निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिइन् । सरकारले आगामी फागुन २१ को निर्वाचनको वातावरण बनाउन विभिन्न पक्षहरूसँग संवाद तीव्र रूपमा अघि बढाएको छ ।











