
एजेन्सी । पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध सुनाइएको मृत्युदण्ड अस्वीकार गर्दै उनको पार्टी अवामी लिगले बंगलादेश बन्दको घोषणा गरेको छ ।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै सोमबार मृत्युदण्डको सजाय सुनाएपछि अवामी लिगले विज्ञप्ति जारी गर्दै अदालतको निर्णयलाई ‘दुर्भावनापूर्ण र प्रतिशोधबाट प्रेरित’ भन्दै आज बंगलादेश बन्दको घोषणा गरेको हो ।
साथै उसले भोलि नोभेम्बर १९ देखि २१ सम्म देशव्यापी विरोध प्रदर्शन गर्न आह्वान समेत गरेको छ । अवामी लिगले बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस र शेख हसिनालाई सजाय सुनाउने न्यायाधिकरणप्रति पनि प्रश्न उठाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचित सरकारको सट्टा अवैध, असंवैधानिक, अनिर्वाचित फाँसीवादी युनुस र उनका सहयोगीहरूले देशमा अवैध रूपमा सत्ता कब्जा गरेका छन् । त्यसपछि अन्तर्राष्ट्रिय सिद्धान्तहरूको उल्लंघन गर्दै अवैध न्यायाधिकरण स्थापना गरेका छन् ।’
अवामी लिगले अगाडि भनेको छ, ‘यो न्यायाधिकरण पूर्णतया गैरकानूनी, दुर्भावनापूर्ण, दुष्ट नियतले प्रेरित छ । युनुसले आफ्नो अवैध रूपमा कब्जा गरिएको शक्ति जोगाउन शेख हसिनाविरुद्ध यो हिंसात्मक कदम चालेका छन् ।’
साथै शेख हसिनाविरुद्धको मुद्दा ‘एक ढोंगबाहेक अरू केही होइन’ भनी टिप्पणी गरिएको छ । गत वर्ष जुलाई–अगस्टमा भएको विद्यार्थी आन्दोलनमा १ हजार ४०० मानिस मारिने गरी बल प्रयोग गर्न आदेश दिएको भन्दै तत्कालीन प्रधानमन्त्री हसिनाविरुद्ध फाँसीको सजाय सुनाइएको हो ।
विद्यार्थी आन्दोलनले सत्ताच्यूत भएपछि भागेकी उनी हाल भारतमा छिन् । उनीसँगै तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमललाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ ।











