
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेश प्रदेशमा पार्टीको वर्तमान अवस्थालाई लिएर चिन्ता व्यक्त गरेका छन् ।
मधेशमा एमाले पहिलो शक्ति हुँदाहुँदै पनि अहिले राजनीतिक रूपमा एक्लिनु परेको र एमालेको सार्वजनिक छविमाथि गम्भीर प्रश्न उठेको बताएका छन् । साथै उनले त्यसबाट पार्टीलाई ठुलो धक्का लागेको भन्दै सामाजिक सञ्जालमार्फत नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
उनले प्रदेश प्रमुखको बर्खास्ती, सभामुखको पदमुक्ति र मुख्यमन्त्रीको पद अदालतको कठघरामा पुग्नुले मधेशको संसदीय फाँटमा एमालेलाई क्षति पुगेको उल्लेख गरेका छन् ।
‘राजनीतिक रूपमा हामी एक्लिएका छौँ, पार्टीभित्र अन्तरविरोध तीव्र बनेको छ,’ भट्टराईले प्रश्न गर्दै भनेका छन्, ‘यो सबै किन र कसका कारणले भयो ? ।’
संविधान जारी भएपछिको कठिन समयका बाबजुद अध्यक्ष केपी शर्मा ओलीको मिहिनेत, सचिव रघुवीर महासेठ र कार्यकर्ताको खटनपटनले गएको निर्वाचनमा एमाले मधेशको पहिलो पार्टी बन्न सफल भएको उनले स्मरण गरेका छन् ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० र प्रदेशसभामा २५ सिट जितेर पार्टी पुनस्र्थापित भएको उल्लेख गर्दै उनले अन्तिम समयमा प्रभु साहले धोका नदिएको भए नतिजा अझ राम्रो हुने जिकिर गरेका छन् ।
आफूले मधेश प्रदेशको इन्चार्जका रूपमा १५ महिना काम गर्दा सङ्गठन व्यवस्थापनमा उल्लेख्य काम भएको र त्यसको प्रशंसा अध्यक्ष तथा महासचिवको प्रतिवेदनमै समेटिएको भट्टराईले दाबी गरेका छन् । तर, अहिले अध्यक्ष ओलीले गरेको मिहिनेतमाथि खेलवाड भइरहेको उनको गुनासो छ ।
एमाले सचिव भट्टराईले मधेसमा पार्टीको अवस्थाबारे गम्भीर समीक्षा गर्नुपर्ने औँल्याएका छन् । उनले पार्टीको ‘सोसल अडिट’ कस्तो छ भन्ने हेर्नुपर्ने बताउँदै जनआधार विस्तार गर्न, आन्तरिक एकता सुदृढ गर्न र सामाजिक छवि सुधार गर्न मधेशमा नयाँ जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताएका छन् । उनले यस विषयमा गम्भीर भएर विचार गर्न पार्टी अध्यक्ष ओलीलाई आग्रह समेत गरेका छन् ।











