काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक करिब स्थिर रहेको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधवार सामान्य अङ्क घटेर बन्द भएको नेप्से आज भने करिब स्थिर रहेको हो ।

बिहीबार नेप्से परिसूचक ०.७९ अङ्क घटेर २५६०.२९ विन्दुमा बन्द भएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.६१ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५४ अङ्क घटेको छ ।
नेप्से करिब स्थिर रहेपनि कारोबार रकम भने बढेको छ । बुधवार ३ अर्ब ७७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३२८ स्टकको ६६ हजार ७९ पटकको कारोबारमा ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज चार स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यधौलागिरी लघुवित्त वित्तीय संस्था, बन्दीपुर केबलकार एण्ड टुरिजम, झापा इनर्जी र सागर डिष्टिलरीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, सिन्धु विकास बैङ्कको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैङ्कको सेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको बुङ्गल हाइड्रोको सेयरमूल्य सर्वाधिक ९.०५ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा साहस उर्जा शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४१ करोड ८० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैङ्कको करिब १७ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत बढेको छ । त्यस्तै, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन घटेका उपसमूहहरूका गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ ।











