Logo
Logo

पत्रकारितामा नवीनता


882
Shares

भन्छन्– स्थायी भनेको परिवर्तनमात्र हो ! यही वाक्यमा समय, परिवर्तन र समाजको सम्पूर्ण दर्शन अट्छ ! समय कुनै ढुंगाको आकार होइन, नदीजस्तै बग्दै जाने, बाटो बनाउँदै जाने र फेरिँदै जाने शक्ति हो । त्यसैले समयसँगै परिवर्तन अनिवार्य छ । र, समाज पनि यसैक्रममा अगाडि बढ्छ ।

परिवर्तनसँगै प्रविधिले हरेक दिन नयाँ मान्यताहरू जन्माउँछ । पुराना परम्पराहरू उल्ट्याउँछ । यस्तो गतिशील धरातलमा जो अडिन खोज्छ, उही डुब्छ । जो परिवर्तन स्वीकार्न तयार हुन्छ, उही बाँच्छ । परिवर्तन नस्वीकार्नेहरू इतिहासको किनारमा फालिन्छन् । तर, परिवर्तनमार्फत आफैँलाई पुनर्जन्म दिन सक्नेहरू इतिहासकै धारमा उभिन्छन् ।

दृष्टि मिडियाले यही परिवर्तनको धारलाई पहिचान गर्दै आफ्नो नयाँ यात्रा तय गरेको छ । ४३ वर्षअघि प्रिन्ट मिडियाबाट सुरु भएको ‘दृष्टि’ पाँच वर्षअघि अनलाइन संस्करणमा प्रवेश गरेको थियो । यो केवल माध्यमको रूपान्तरण मात्र थिएन, पत्रकारिताको दर्शनमै भएको गहिरो रूपान्तरण थियो । आज, दृष्टि फेरि अर्को मोडमा उभिएको छ । ४३औँ वर्षमा प्रवेश गरेसँगै मल्टिमिडिया पत्रकारिताको सुरुवात गरेको छ ।

पञ्चायती निरंकुशताको अन्धकार चिरेर सुरु गरिएको ‘दृष्टि’को मिशन पत्रकारिता सामान्य प्रयत्न थिएन । त्यो समयमा सत्य बोल्नु विद्रोह थियो । विद्रोही हुनु जोखिम थियो । तर यिनै जोखिमको बाटो हिँड्दै ‘दृष्टि’ले आफूलाई स्थापित ग¥यो । यो केवल समाचारको माध्यम मात्र थिएन । सत्ता प्रतिरोधको आवाज थियो । विचारको संवाहक थियो । परिवर्तन र नागरिक चेतनाको सारथि थियो ।

चार दशकको यात्राले यही सत्यको साक्षी दिएको छ । पञ्चायती अन्धकार युगबाट उठेर विभिन्न राजनीतिक मोड, सामाजिक उतारचढाव र प्राविधिक चुनौतीहरू पार गर्दै कागजको सुगन्धमा लेखिएको ‘दृष्टि’ आज समयको मागअनुसार अनलाइन हुँदै मल्टिमिडियातर्फ उभिएको छ ।

दृष्टि मिडियाले प्रिन्टबाट अनलाइनमा आएको निर्णय समयानुकूल थियो । तर, अनलाइनबाट मल्टिमिडियातर्फ कदम चाल्नु केवल समयको माग होइन, पत्रकारिताको नयाँ सम्भावनातर्फ दृष्टिको उडान हो ।

आज मल्टिमिडियाको आवश्यकता केवल ‘ट्रेन्ड’को कारण होइन । स्वरूपको परिवर्तन पनि होइन । यो सञ्चारको गहिरो रूपान्तरणकै हो । समाचार ग्रहण गर्ने जनताको बानी, अपेक्षा र प्रतिक्रियाको प्रतिविम्ब हो । यही बदलिँदो भूगोलमा मल्टिमिडिया पत्रकारिता अब विकल्प होइन, जरुरी भएको हो ।

कुनै एक समय थियो– समाचार कागजको छाप, रेडियोको स्वर वा टेलिभिजनको पर्दामा मात्र सीमित हुन्थ्यो । तर, आज समय फेरियो । मानिसको पढ्ने बानी, हेर्ने शैली, गतिशीलता र अपेक्षा बदलियो । पत्रकारिता टेक्स्ट, फोटो, भिडियो, इन्फोग्राफिक्स, एनिमेसन, इन्टरएक्टिभ डेटा र लाइभ अपडेटको समिश्रण बनेको छ । यही कारण मल्टिमिडिया अब ट्रेन्ड होइन, अपरिहार्य आवश्यकता हो ।

त्यसैले विश्वव्यापी रूपमा मल्टिमिडियाको विकास तीव्र छ । नेपालमा पनि यो क्रम जारी छ । मोबाइल फोन र इन्टरनेटको पहुँचले प्रायः सबै छोटो, दृश्यात्मक र इन्टरएक्टिभ सामग्री खोजीमा छन् । टिकटक, इन्स्टाग्राम, युट्युबजस्ता प्लेटफर्ममा समाचार भिडियोहरूले लाखौँ भ्यूज पाउँछन् । परम्परागत पत्रपत्रिका वा रेडियो यो गतिशीलता दिन सक्दैन ।

मानव जीवनशैलीमा आएको परिवर्तन, नयाँ व्यवसाय र प्रविधिको विकाससँगै समाचारको माग पनि बढेको हो । अहिले पनि पत्रपत्रिका र रेडियो÷टेलिभिजनमा मात्र निर्भर रहनु पर्याप्त हुँदैन । कोभिडअघि डिजिटल मिडियालाई विकल्पका रूपमा लिइन्थ्यो । तर, अहिले अधिकांश मिडियाले यसैलाई पहिलो प्राथमिकतामा राखेको छ ।

राजनीति, अर्थतन्त्र, वातावरणजस्ता जटिल विषयहरूलाई केवल टेक्स्टले बुझाउन कठिन हुन्छ । मल्टिमिडियाले इन्फोग्राफिक्स, एनिमेसन र डेटा भिजुअलाइजेसनमार्फत जटिलतालाई सरल बनाउँछ । भिडियोमार्फत स्थानीय भाषा, संस्कृति र मुद्दालाई राष्ट्रियस्तरमा पु¥याउन सकिन्छ । उदाहरणका लागि, कर्णालीका किसानको समस्या ड्रोन फुटेज र भ्लगमार्फत प्रस्तुत गर्दा शहरी दर्शकले वास्तविकता प्रत्यक्ष बुझ्छन् । यसले पत्रकारितालाई लोकतान्त्रिक, समावेशी र जनमुखी बनाउँछ ।

त्यसैले मल्टिमिडियामा विद्यार्थीहरूको रुचि पनि उल्लेख्य रूपमा बढेको छ । ग्राफिक्सप्रति मोह, सामाजिक सञ्जालमा फेसबुक रिल्स, टिकटक, युट्युब सट्स, इन्स्टाग्राम रिल्समार्फत तत्काल समाचार प्रस्तुत गर्ने चलनले यो स्पष्ट देखाउँछ ।

तर चुनौतीहरू पनि कम छैनन् । दुर्गम क्षेत्रमा इन्टरनेट स्पिड कमजोर छ । उच्च गुणस्तरको क्यामेरा, ड्रोन र एडिटिङ सफ्टवेयर महँगो छन् । पत्रकारहरूको प्रशिक्षण सीमित छ । त्रिभुवन विश्वविद्यालयमा भिडियो एडिटिङ र डेटा भिजुअलाइजेसनको पाठ्यक्रम न्यून छ । हतारमा बनेका भिडियोहरूमा फेक न्युज मिसिन्छ । सेन्सेशनल थम्बनेल र क्लिकबेटले विश्वसनीयता घटाउँछ । विज्ञापनदाता सामाजिक सञ्जालतर्फ सरेका छन्, परम्परागत मिडियाको आम्दानी घट्दा मल्टिमिडिया लगानी जोखिमपूर्ण बनिरहेको छ ।

भिडियो निर्माण, भिजुअल स्टोरीटेलिङ, दर्शकको ध्यान-प्रतिस्पर्धा, डिजिटल एल्गोरिदम र सत्य-असत्यबीचको संघर्ष यी सबै चुनौतीको पहाड हुन् । तर, दृष्टिले इतिहासभरि चुनौतीलाई सामना गर्दै आएको छ । पञ्चायती निरंकुश शासनविरुद्धको मिशन पत्रकारिताबाट सुरु गरिएको यात्रा, चार दशकको साहस, प्रतिबद्धता र दृष्टिको परिपक्वता आज पनि जारी छ । यो नयाँ मोड त्यसै परम्पराको निरन्तरता हो ।

दृष्टिले यही मोडमा आफूलाई ढाल्नु केवल विकल्प होइन, यो विस्तार र प्रभावशाली बन्ने रणनीतिक पूर्वशर्त हो । समयसँगै चल्ने मात्र होइन, समयको अगाडि हिँड्ने महत्वाकांक्षा पनि हो । दृष्टिले प्रिन्ट, अनलाइन र अब मल्टिमिडियामा साहसपूर्वक अघि बढ्दै देखाएको प्रतिबद्धता केवल संस्थागत निर्णय होइन, यो पत्रकारिताप्रतिको गहिरो प्रेम र निष्ठाको घोषणापत्र हो ।

परिवर्तन सधैँ असजिलो हुन्छ । नयाँ प्रविधि सिक्न, नयाँ ढाँचा अपनाउन, नयाँ बजार घच्घच्याउन सबै चुनौतीपूर्ण हुन्छ । तर, परिवर्तनलाई नमान्नेहरूको यात्रा रोकिन्छ, परिवर्तनलाई आत्मसात् गर्नेहरूको यात्रा इतिहासमा लेखिन्छ । दृष्टिको इतिहास त लेखिसकेको छ । तर, यसको यात्रा यहाँ रोकिँदैन । भविष्यमा अझ नयाँ सोच, नयाँ माध्यम र नयाँ अनुभवसँगै दृष्टिले समाजलाई सूचित, सशक्त र जागरूक बनाउने अभियान जारी राख्ने छ ।

दर्शक, पाठक, समर्थक र आलोचक सबैको साथ, सहयोग र विश्वासले नै दृष्टिलाई यहाँसम्म पु¥याएको हो । अब यही विश्वास मल्टिमिडियामा पनि कायम रहनेछ भन्नेमा हामी दृढ छौँ । अब पनि नयाँ जोश र नयाँ साथसहित तथ्य, निष्ठा र गुणस्तरीय पत्रकारिताको माध्यमबाट समाजलाई सूचित, सशक्त र प्रेरित गर्ने दृढ प्रण गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्