काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन-२ मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन मात्र बनाएको हो ।

पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेलेका हुन् । कुशलले ३२ बलमा ५३ रन बनाएर आउट भए । जिम्मी निशमले ४७ रनको योगदान दिए ।
ड्यान डाउथवैट ३७, दीनेश खरेल ६, एडम रोसिङटोन १, किरण ठगुन्ना ९, सुमीत वर्मा ६ र अभिषेख तिवारी ३ रनमा आउट भए । आकाश चन्द १ र विपिन खत्री ७ रनमा अविजित रहे ।
बलिङमा सुदूरपश्चिमका हर्मित सिंहले २, स्कट कुइगेलेइन, कप्तान दीपेन्द्रसिंह ऐरी, अभिनास बोहरा, हेमन्त धामी र नरेन भट्टले एकएक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १९३ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि ओपनर जोश ब्राउनले सर्वाधिक ६८ रन बनाए । विनोद ४३ रनमा आउट भए । क्रीस लिन ३१, कप्तान दीपेन्द्रसिंह ऐरी १५, हर्मीत सिंह ४ र स्कट कुइगेलेन ८ रनमा आउट भए । बलिङमा पोखराका जिम्मी निशमले सर्वाधिक ३ विकेट लिए । ड्यान डाउथवैट र आकाश चन्दले दुई/दुई विकेट लिए ।
योसँगै सुदूरपश्चिमले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा सुदूरपश्चिमले काठमाण्डु गोर्खाजलाई पराजित गरेको थियो । पोखराले भने लगातार दोस्रो हार बेहोरेको छ । पोखरा पहिलो खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो ।











