Logo
Logo

नाका बन्द हुँदा पेन्सनधारी समस्यामा


- दृष्टि न्युज/संवाददाता


बैतडी, १७ असोज । नेपाल–भारत सीमानाका झुलाघाट बन्द हुँदा बैतडीका भारतीय पेन्सनधारी समस्यामा परेका छन् । भारतीय सेना र अन्य भारतीय सरकारी कार्यालयबाट निवृत्त भएका नेपालीलाई पेन्सनको रकम प्राप्त गर्न समस्या भएको छ ।
भारतीय बैंकमार्फत पेन्सनको पैसा बुझ्ने भएकोले नाका बन्द हुँदा पेन्सनधारी समस्यामा परेका हुुन् । पेन्सनकै भरमा रहेकालाई घरधन्दा चलाउन समस्या भएको भुतपूर्व सैनिक संघ बैतडीका संस्थापक अध्यक्ष जीतसिंह थापाले जानकारी दिए ।
जिल्ला प्रशासनलाई १५ दिन अगाडि नाका खोल्न पहल गर्नका लागि अनुरोध गरेको भएपनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उनको भनाइ थियो । ‘पेन्सनधारीलाई नाका नखुुल्दा खान लाउन, औषधि उपचारका लागि पैसा नहुँदा समस्यामा परेका छन्, नाका खोल्नको लागि सरकारले वास्ता गरेको छैन’ उनले भने ।
यसअघि तीन महिना अगाडि तीन दिनलाई नाका खोलेको भएपनि त्यो समयमा सबैले पेन्सन बुुझ्न नपाएको थापाको भनाइ थियो । उनले भने, ‘जिल्लामा एक हजार दुई सय भारतीय पेन्सनधारी रहेपनि त्यो बेला ४ सय ३८ जनाले पेन्सन बुझ्न पाए, कोही धनगढी, कोही महेन्द्रनगरमा भएकाले समय अपुुग हुँदा सबैले बुुझ्न पाएनन् ।’
जिल्ला प्रशासन कार्यालय बैतडीले भने नाका खोल्न प्रयासरत रहेको जनाएको छ । दुई देश सहमत भएपछि मात्रै नाका खोल्न सकिने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । उनले पेन्सनधारीको समस्याबारे स्थानीय प्रशासन जानकार रहेको भन्दै सरकारलाई लिखित र मौखिक जानकारी गराएको बताए ।

प्रतिक्रिया दिनुहोस्