काठमाडौं । ओपनर निरजकुमार यादवको शतकमा नेपाली युवा टोलीले युएईमा जारी एसीसी पुरुष यू-१९ प्रिमियर कपमा विजयी सुरुवात गरेको छ ।

युएईको अजमानमा मङ्गलवार भएको खेलमा नेपालले साउदी अरेबियालाई ८ विकेटले पराजित गर्दै प्रिमियर कपमा पहिलो जित दर्ता गरेको हो । साउदीले भने लगातार दोस्रो हार व्यहोरेको हो ।
साउदीले दिएको २ सय १९ रनको लक्ष्य नेपालले ३०.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । दोस्रो विकेटका लागि ओपनर निरज यादव र निश्चल क्षेत्रीले १ सय ५५ रनको साझेदारी गरेपछि नेपालले सहज लक्ष्य भेट्टाएको हो ।
ओपनर निरजले ९० बलमा १३ चौका र १ छक्का सहयोगमा १ सय १४ रनको महत्वपूर्ण योगदान दिए । अर्का ओपनर वंश क्षेत्रीले २० बलमा ४ चौका र १ छक्का सहयोगमा ३० रन बनाए । निश्चल क्षेत्री ६६ र सिवरिन श्रेष्ठ १ रनमा अविजित रहे ।
त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको साउदीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा २ सय १८ रनको योगफल तयार पारेको थियो । नेपालका लागि अशोक धामीले २ विकेट लिए । दयानन्द मण्डल, सुशीलबहादुर रावल, सिरविन श्रेष्ठ र दर्स सोनारले समान एक विकेट हात पारे ।
पहिलो जितसँगै नेपाल समूह ए को शीर्ष स्थानमा छ । एक खेलमा जित र एक खेलमा हार भोगेको हङकङ २ अङ्कमा दोस्रो स्थानमा छ । समूह चरणको दोस्रो तथा अन्तिम खेलमा नेपालले बिहीबार हङकङसँग खेल्नेछ । सो खेल जितेमा नेपालले सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।
प्रिमियर कपमा सहभागी १४ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
सेमिफाइनलका विजेता टोलीले उपाधिका लागि भिड्नेछन् । पराजित हुने टोलीले तेस्रो स्थानमा लागि खेल्नेछन् ।











