काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । साताको पहिलो कारोबार दिनदेखि बढ्न थालेको नेप्सेले आज बिहीबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

बिहीबार नेप्से परिसूचक १०.४३ अङ्क बढेर २६७६.०३ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४८ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.१४ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२१ अङ्क बढेको छ ।
नेप्से बढेपनि आज कारोबार रकम भने सामान्य घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधवार ६ अर्ब ६९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३३३ स्टकको ८६ हजार १७० पटकको कारोबारमा ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ४६ लाख ९३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज ४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयरमूल्य करिब ६ प्रतिशत बढेको छ । कारोबारमा आएको हिमस्टार उर्जा र फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ७.७८ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४० करोड १७ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब १६ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशत बढेको छ । वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो ।











