Logo
Logo

प्रदेश राजधानीको प्रस्ताव पास गराउन नेकपा संसदीय दलको निर्देशन


- दृष्टि न्युज/संवाददाता


रुपन्देही, १९ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ को संसदीय दलले सरकारले ल्याएको राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव पास गराउन प्रदेशसभाका सदस्यलाई निर्देशन दिएको छ । सोमबार बसेको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले पार्टीको प्रदेश इन्चार्जको हैसियतले प्रदेशसभाका सदस्यलाई सरकारले ल्याएको प्रस्ताव पास गराउनका लागि लाग्न निर्देशन दिएको नेकपाका मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।
बैठकले दाङ देउखुरीलाई प्रशासनिक राजधानी बनाउने र लुम्बिनी क्षेत्रलाई आर्थिक र पर्यटकीय राजधानी बनाउने गरी प्रदेश सरकारले कार्यक्रम ल्याउने निर्णय पनि गरेको छ । यही १६ असोजमा प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरी प्रदेशसभामा प्रस्ताव पेश भएको थियो । संसदीय दलको बैठक सकिएपछि अबको केहीबेरमा प्रदेशसभा बैठक शुरु हुनेछ ।
यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको नेकपासँग भएको छलफलमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्षी दल काँग्रेसले संसद् बैठक अवरुद्ध गर्ने भएको छ । सोमबार संसद् भवन परिसरमै बसेको काँग्रेस दलको बैठकले आजको प्रदेशसभा बैठक अवरुद्ध गर्ने निर्णय गरेको काँग्रेस सचेतक निर्मला क्षेत्रीले जानकारी दिइन् । बैठक शुरु हुनासाथ रोष्टम घेराउ गर्ने र दलका नेताले बोलेपछि बैठक स्थगित गर्न दबाब दिने सचेतक क्षेत्रीले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्