काठमाडौँ । नेपाल एसीसी पुरुष यू–१९ प्रिमियर कपको फाइनलमा पुगेको छ । नेपालले सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गरेको हो ।

मलेसियाले दिएको ५२ रनको लक्ष्य पछाएको नेपालले ८ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मलेसिया १७.२ ओभरमा अल आउट हुदै ५१ रन बनाएको थियो । मलेसियाका लागि हमजाह पन्गीले १३ र मुहमद फाथुल मुइनले ११रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर नितेश कुमार पटेल, चन्दन रामले ३, अपराजित पौडेल, अशोक धामी र रोशन विश्वकर्माले एक एक विकेट लिएका थिए । योसँगै नेपाल फाइनलमा पुगेसँगै आगामी डिसेम्बरमा हुने यू-१९ एशिया कपमा छनौट भएको छ ।
अब नेपालले प्रतियोगिताको उपाधिका लागि अर्को सेमिफाइनलको युएई र ओमानबीचको विजेतासँग फाइनलमा खेल्ने छ । फाइनल खेल डिसेम्बर १ मा हुने छ । यस प्रतियोगिताको शिर्ष तीन देश एशिया कपमा छनौट हुनेछन् ।











