
आर्यघाटको चितामा लम्पसार परेका
लासहरूको अनैतिक हुल जम्मा गरेर
प्रतिक्रान्तिकारीहरू फेरि सत्ता आरोहणको
नयाँ रङ्गिन रचनाहरू रच्दै छन्।
शोषित, पीडित जनता पीडा र असमानताको
यातना गृहमा बिरलिँदै भोक, रोग र अभावको
तातो भुमरीमा छट्पटिँदै चिच्याई रहेछन्।
मुलुकलाई ऋणै ऋणको भारी बोकाएर
तिमी समृद्धिको सपना बाँड्दै छौँ ।
दलाल, भ्रष्ट र असफलहरूको भिड बटुलेर
तिमी समानता र सुशासनको चिहान खन्दै छौँ।
गरिब,दुखी जनतालाई नाङ्गेझार पारेर
बिचार, सिद्धान्त र आदर्शको कत्लेआम गरेर
विश्वास,भरोसा र बलिदानको घाँटी निमोठेर
तिमी लुटको स्वर्गमा साम्राज्यको लङ्का ठड्यान खोज्दै छौँ।
समाजवाद र साम्यवादको कमण्डलु बोकेर
अहङ्कार र घमन्डको खरानी घसेर
छुद्र,चोथाले र विकरालको त्रिशूल घोपेर
तिमी लाल अघोरीहरू जनताको चौटा लुछ्दै छौँ ।
सहिदको रगतमा सिर्जित सपनाको मुना मासेर
राष्ट्रघाति र जनघातीहरूसँग घाँटी गाँसेर
जनताको त्याग,तपस्या र योगदानलाई पासोमा पारेर
तिमी रित्तिएको कोख र पुछिएको सिउँदोमाथि कोर्रा बर्साउँदै छौँ ।











