
काठमाडौं । जेन–जी आन्दोलनपछि पनि सरकारी जग्गा र भवन शक्ति र पैसाको आडमा दुरुपयोग हुने क्रम रोकिएको छैन । राष्ट्रिय खेलकुद परिषद्को भवन दुरुपयोग गरी क्यान्टिन सञ्चालन भइरहेको पाइएको छ ।
बोलपत्रमार्फत एउटा क्यान्टिन सञ्चालन हुँदाहुँदै कर्मचारीको सेटिङमा अर्को भवनमा अवैधानिक क्यान्टिन सञ्चालन हुँदासमेत राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङको ध्यान गएको छैन ।
एउटा पुरै भवन कब्जा गरी सञ्चालित चमेनागृहमा मदिरा, धुमपान लगायतका निषेधित बस्तुको समेत बिक्री वितरण भइरहेको गुनासो केही कर्मचारी र सेवाग्राहीको छ । स्रोतका अनुसार कर्मचारीको सेटिङमा परिषद्को भवन प्रयोग गरेबापत उक्त चमेना गृहले एक पैसा पनि तिरेको छैन । जबकि, परिषद्मै बोलपत्रमार्फत सञ्चालित अर्को चमेना गृहले नियमित शुल्क तिर्दै आएको छ । यसले एकातिर राज्यले राजस्व गुमाएको छ भने अर्कोतिर वैधानिक रूपमा सञ्चालित चमेना गृहलाई समस्या पारेको छ ।
आम खेलाडी तथा राखेपाका कर्मचारीले दैनिक खाना, नास्ता चियालगायत खाने चमेना गृह सञ्चालनमा चरम लापरबाही देखिएको समाचार स्रोतले बताएको छ । स्रोतका अनुसार राष्ट्रिय खेलकुद परिषद्जस्तो जिम्मेवार निकाय चमेना गृह सञ्चालकको यस्तो लापरबाहीमा मौन बस्दा आम खेलाडीको स्वास्थ्यमाथि भएको गम्भीर खेलवाडप्रति राखेप सञ्चालक समितिमाथि नै प्रश्न खडा भएको छ । सामान्य सामाजिक उत्तरदायित्व पनि पालना नगरी व्यापक अनियमितता तथा परिषद्भित्र भएको लापरबाहीलाई राखेपले अनदेखा गर्दा एकपछि अर्को विवाद सतहमा आएको छ ।
‘देशकै सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता गर्नका लागि खेलाडीलाई गुणस्तरीय खाद्य पदार्थ जरुरी पर्छ । तर यसका लागि राखेप तथा सोसम्बन्धी सरोकारवाला निकायले बेवास्ता गर्दै आन्तरिक रूपमा आफ्ना निटकका व्यक्तिलाई चमेना गृह (क्यान्टिन) सञ्चालन गर्न दिएको स्रोतले बतायो । ‘कुनै छलफल नगरी, निर्णय नभई एउटा क्यान्टिन राख्नुपर्नेमा व्यक्तिगत रूपमा आफ्ना निकट व्यक्तिलाई क्यान्टिन सञ्चालन गर्न दिएपछि राखेपको यस्तो रवैयाले कतै खेलकुद परिषद्कै मिलेमतोमा अनियमितता भइरहेको त छैन भन्ने शङ्का उब्जाएको छ’, परिषद्मा कार्यरत एक कर्मचारीले नाम नबताउने सर्तमा भने ।
कुराकानीकै क्रममा उनले थपे, ‘राखेपले खेलकुदका लागि निकट व्यक्तिभन्दा खेलाडीको उचित व्यवस्थापनमा जोड दिनुपर्छ । राखेप सञ्चालक समितिका सदस्यहरू खेलाडीप्रति उत्तरदायी हुन नसकेको यसले प्रस्ट देखाउँछ ।’
राखेपमा २०४० सालदेखि नै चमेना गृह सञ्चालित छ । हरेक चार–चार वर्षमा बोलपत्र आह्वान गरी सञ्चालन हुँदै आएको चमेना गृह पछिल्लो समय परिषद्भित्रै अर्को नियमित विपरीत चमेना गृह सञ्चालन भएपछि रितपूर्वक चलिरहेको चमेना गृह राखेपबाट विस्थापित हुने अवस्थामा पुगे पनि त्यही कार्यरत कर्मचारी तिलक नेपालीले भने सबै प्रक्रिया पूरा गरी सञ्चालन गर्न दिएको बताउँछन् । तर रितपूर्वक चमेना गृह सञ्चालन गर्ने सञ्चालक भने राखेप प्रशासनकै मिलेमतोमा अर्को चमेना गृह सञ्चालन गर्न दिएको गुनासो गर्छन् ।
राष्ट्रिय खेलकुद परिषद् खेलाडीका लागि गुणस्तरीय खाद्यवस्तुको मात्र कुरा नभएर समाजप्रति पनि जिम्मेवार नभएको प्रस्ट देखिन्छ । राखेपमै कार्यरत सवारी चालकका जीवनसंगिनीहरुले बेलुकाको समयमा मदिरा एवं धुम्रपान एवं सुर्तीजन्य पदार्थ खुलेआम बिक्रीमा राख्ने गरेको पाइएको छ ।
राखेपमा यस्तो विकृति देख्दा सर्वसाधारण समेत चकित परेका छन् । राखेप नजिकै अस्पताल भएकाले उक्त क्षेत्रमा आवतजावत गर्नेहरुले समेत यस्तो अनैतिक कार्यको विरोध गरेका छन् । सोही क्षेत्रमा फेलापरेकी विन्दु खनालले यसरी खेल क्षेत्रमा चुरोट, रक्सीजस्ता वस्तु बेच्न यहाँकै कर्मचारी र उसका परिवार अघि सर्नुमा राखेपकै मिलेमतो रहेको प्रस्ट हुन्छ भन्छिन् । विन्दुमात्र नभएर यस्तो दृश्य देख्नेहरू राखेपप्रति नै रोष प्रकट गर्छन् ।
केही सवारी चालकका श्रीमतीले नाङ्लोमा चुरोट, खैनीलगायत निषेधित वस्तु राखेप परिसर तथा सो क्षेत्र वरपर राखेर बिक्री गरी आयआर्जन गर्छन् भने यस्तो सुविधा आफूहरूले पनि पाउनुपर्ने परिषद्का अन्य सवारी चालकहरू बताउँछन् । नाम उल्लेख नगर्ने सर्तमा राखेपका एक सवारी चालक भन्छन्, ‘नियम सबैलाई लागू हुनुपर्छ ।
राखेपले सवारी चालकलाई बस्नका लागि क्वाटरको समेत व्यवस्था गरेको छ । परिवार सबैको हुन्छ, अतिरिक्त आम्दानीका लागि कसैले नियम विपरीत निषेधित सामग्री परिषद्भित्रै बिक्री वितरण गरिरहेकाले आफूहरूले पनि सो कार्य गर्न पाउनुपर्छ भन्दा प्रशासनले हामीलाई चाहिँ हुँदैन भन्छ । बाह्य आम्दानी गर्न हामीलाई पनि दिनुपर्छ, होइन भने सबैका लागि बन्द गरिनुपर्छ । माथिका कर्मचारीका नजिकका आफन्तले जे गरे पनि हुने हामीलाई चाहिँ मिल्दैन भन्नुमा प्रशासनको मिलेमतो छैन भनेर हामीले कसरी पत्याउने ? उनी प्रश्न गर्छन् ।
हामीले राखेपमाथि प्रश्न उठेपछि राखेपकै तिलक नेपालीलाई प्रश्न गर्दा उनले भने ‘यस्तो हल्ला मैले पनि सुनेको छु, तर त्यो नियोजित रूपमा गरिएको हल्ला मात्र भएकाले यसको पछि लाग्नु उचित नहुने उनी बताउँछन् । एकले अर्कालाई आरोप लगाउँदै आफू मुक्त हुन खोज्नु र सरकारी क्षेत्रबाट आफूले फाइदा लिन खोज्नु राम्रो नहुने उनले भने ।
नेपालका सरकारी कार्यालयहरूमा अनुशासनहीनता बढ्दै गएको सबैले महसुस गरेकै विषय हो । तर राखेपजस्तो संस्थामा यस्तो विकृति हुनु झनै लाजमर्दो हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा खेलाडीले प्रयोग गर्ने चमेना गृह सञ्चालनमा यति लापरबाही हुँदा पनि सञ्चालक समिति मौन रहनुले पनि मिलेमतोमा यस्तो काम भइरहेको प्रस्ट हुन्छ ।
एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टीक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खोखो, कराते, कन्ट्याक्ट कराते, आइटिएफ तेक्वान्दो, सेपाक्ताक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाइडिङ, ठेलो र क्यानोइङजस्ता प्रतियोगितामा समावेश हुने खेलाडीका लागि खानाको राम्रो व्यवस्थापन गर्नुपर्ने चमेना गृह सञ्चालकले नियम विपरीत सो क्षेत्रमा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री गर्दा पनि प्रशासनले कडाइ नगर्नुले उनीहरुको मिलेमतोमै यस्ता क्रियाकलाप भइरहेको प्रस्ट हुन्छ । यस्तो क्रियाकलापमा रोक लगाउन व्यवस्थापन पक्षले उचित कदम नचाले राखेप राष्ट्रिय÷अन्तर्राष्ट्रिय रूपमा बदनाम हुनेमा शङ्का छैन ।
सत्तारुढ जेनजी समूहद्वारा छानिएकी प्रधानमन्त्री सुशीला कार्की संरक्षकमा बस्नेमात्र होइन मन्त्री बब्लु गुप्ताले पनि यस विषयमा ध्यान दिनुपर्ने देखिएको छ । यसमा नेपाली कांग्रेस, एमाले, माओवादीलगायत सबै दलका खेलकुद सङ्घहरूसँग छलफल गरी राखेप क्षेत्रमा भइरहेका यस्तो क्रियाकलाप तत्काल रोक्न छलफल गर्नुपर्छ । ताकि विभिन्न प्रतियोगितामा हुने अनैतिक कार्य पनि रोकियोस् ।
राखेपमा हुने हरेक निर्णय सदस्यसचिव र मन्त्रीले एकलौटी गर्ने गरेको त्यहाँका इमानदार कर्मचारीको आरोप छ । के जेन—जीको परिवर्तनबाट बनेका युवा खेलकुदमन्त्री बब्लु गुप्ता र सदस्यसचिव टंकलाल घिसिङले राखेपभित्र निरन्तर चलिरहेको यस्ता अनैतिक कार्यलाई निमिट्यान्न पार्न भूमिका खेल्नुपर्ने सरोकारावालाहरुको जोड छ ।














