काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्सेमा करेक्सन भएको छ । गत साताका पाँचै कारोबार दिन बढेर बन्द भएको नेप्सेमा आइतबार भने करेक्सन भएको हो ।

गत साता नेप्से परिसूचक ११५.७२ अङ्क बढेको थियो । बजार बढेको मौकामा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा नेप्सेमा करेक्सन भएको हो । नेप्से परिसूचक २६.५१ अङ्क घटेर २६४९.५२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.६७ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स २.०६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अङ्क घटेको छ ।
नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ६ अर्ब ६६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३४२ स्टकको ८४ हजार १५६ पटकको कारोबारमा ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार रुपैयाँबराबरको १ करोड ५७ लाख ३६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आइतबार ५ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिष्टिलरी, निफ्रा ग्रीन इनर्जी डिबेञ्चर ६ प्रतिशत, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, ८.५ प्रतिशत माछापुच्छ्रे डिबेञ्चर २०८७ को मूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको १० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९० को मूल्य सर्वाधिक ८.९९ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २३ करोड ५ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब २२ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने ग्रीन भेन्चर्सको कारोबार रकम २१ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ । उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो । लगानी उपसमूहको परिसूचक सर्वाधिक १.४८ प्रतिशत घटेको छ । त्यस्तै, बैंकिङ्ग, विकास बैङ्क, जलविद्युत, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।











