Logo
Logo

एसीसी यू-१९ प्रिमियर कप फाइनल: यूएई १४७ रनमा अलआउट, दयानन्दले लिए ६ विकेट


315
Shares

काठमाडौं । एसीसी यू-१९ प्रिमियर कपको उपाधि जित्न नेपालले १४८ रनको लक्ष्य पाएको छ । फाइनलमा नेपालको घातक बलिङसामु निरीह बनेको आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) ४५.५ ओभरमा १४७ रनमै अलआउट भयो ।

नेपाललाई सस्तैमा समेट्न स्पिनर दयानन्द मण्डल एक्लैले ६ विकेट लिए । अजमानस्थित कर्वन क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले सुरुवातदेखि नै यूएईलाई दबाबमा राखेको थियो ।  इनिङको पहिलो ओभरको पहिलो बलमै दयानन्द मण्डलले यूएईका कप्तान ययीन राई (०) लाई आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाए ।

त्यसपछि यूएईका ब्याटरहरू क्रिजमा टिक्नै सकेनन्। जैनुल्लाह रहमानी (२), आयान मिसबाह (११) र मोहम्मद रायन खान (०) लाई गुमाउँदा यूएईको स्कोर ६.५ ओभरमा जम्मा २० रन थियो र ४ विकेट गुमिसकेको थियो ।

पृथ्वी मधु (४) पनि सस्तैमा आउट भएपछि ४४ रनमा ५ विकेट गुमाएर यूएई दयनीय स्थितिमा पुगेको थियो । एकतर्फी जस्तै देखिएको खेलमा यूएईका लागि अहमद खुदादादले एक छेउबाट इनिङ सम्हाले। उनले १२६ बलको सामना गर्दै ६ चौकाको मद्दतमा सर्वाधिक ७१ रनको अर्धशतकीय पारी खेले। उनलाई नुरउल्लाह अयोबीले राम्रो साथ दिए । अयोबीले २६ रन बनाए ।

छैठौं विकेटका लागि खुदादाद र अयोबीबीच ५६ रनको साझेदारी भएपछि यूएईले १०० रनको आँकडा पार गर्न सक्यो । तर, यो साझेदारी टुट्नासाथ यूएईको तल्लो क्रम पुनः धराशायी बन्यो । अन्तिममा सालेह अमिनले ५ र अली असगरले २ रन मात्र जोड्न सके ।

नेपालको बलिङमा दयानन्द मण्डल नायक साबित भए । उनले ६ ५ ओभर बलिङ गर्दै २ मेडन राखेर केवल १७ रन खर्चिदै ६ विकेट लिए । त्यस्तै, अर्का स्पिनर अपराजित पौडेलले १० ओभरमा ३९ रन दिएर २ विकेट लिए । कप्तान अशोक धामीले १० ओभरमा ४ मेडन राख्दै मात्र ९ रन दिएर १ विकेट लिए भने नितेश कुमार पटेलले १ विकेट हात पारे ।

अब उपाधि जित्नका लागि नेपालले ५० ओभरमा १४८ रन बनाउनुपर्नेछ। यो खेल जिते नेपाल एसीसी यू-१९ एसिया कपका लागि छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्