Logo
Logo

बाल संगठनको जग्गामा बृहस्पती र अख्तियारको रजाइँ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० असोज । नेपाल बाल संगठनमा रहने अनाथ तथा असाहाय बालबालिकालाई आधारभुत सुविधा समेत छैन । तर, त्यही संगठनको जग्गामा केही व्यक्तिले महंगा स्कुल चलाएर करोडौं कमाइरहेका छन् ।

नक्सालस्थित बाल संगठनको जग्गामा बृहस्पति बिद्यासदन र राई स्कुलमा सञ्चालनमा छन् । जुन स्कुल उपत्यकाकै महंगा स्कुलमा पर्दछ । कौडीको भाउमा संगठनको जग्गा स्कुलले लिजमा लिएको छ । जसमा अनियमितता समेत भएको छ ।

विनाप्रतिस्पर्धा संगठनको २८ रोपनी पाँच आना जग्गा वृहस्पति विद्यासदन स्कुलले लिजमा लिएकोमा सम्झौता अवधि नसकिँदै विनाप्रतिस्पर्धा थप ३८ वर्षका लागि नवीकरण गरिएको थियो । सो विषयमा संगठनका पूर्वपदाधिकारीसँग भट्टराई आयोगले बयानसमेत लिइसकेको छ ।

उच्च अदालतका पूर्वन्यायाधीश हरि भट्टराई नेतृत्वको छानबिन आयोगले समेत त्यसरी जग्गा लिजमा दिँदा अनियमितता भएको औँल्याएको थियो । संगठनकी पूर्वअध्यक्ष रिता सिंह, पूर्वमहासचिवहरू कृष्णशंकर शाह, सुवासकुमार पोखरेल, पूर्वउपाध्यक्ष तुल्सीनारायण श्रेष्ठ, पूर्वकोषाध्यक्ष दीपकदास श्रेष्ठ र पूर्वकेन्द्रीय सदस्य सुमन शाक्य, पूर्वनिर्देशक राजेश्वर निरौला, बालकृष्ण डंगोल, रमेश भोमी, पूर्वशाखा प्रमुख टिकमणि न्यौपाने र प्रमिला श्रेष्ठलाई कारबाहीको सिफारिस गरेको थियो । हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो विषयमा छानबिन गरिरहेको छ । नक्सालस्थित संगठनको केन्द्रीय कार्यालय परिसरमा रहेको जग्गा वृहस्पति स्कुलले ०५८ देखि लिजमा लिँदै आएको छ । लिजको सम्झौतामा बजार मूल्यभन्दा सस्तोमा भएको र सम्झौताअनुसार स्कुलले बाल संगठनको भवन बनाउने लगायतका काम पनि नगरेको छानबिनमा उल्लेख थियो । ०५८ सालमा २५ वर्षका लागि लिजमा दिने सम्झौता भएकोमा लिज अवधि समाप्त नै नभई थप ३८ वर्षका लागि दिने अर्काे सम्झौता भएको थियो । वृहस्पतिले सोही जग्गामा भवन बनाएर हाल राई स्कुलसमेत सञ्चालन गर्दै आएको छ ।

संसद्को महिला तथा सामाजिक समितिले गत माघमै संगठनको सम्पत्ति सरकारमातहत ल्याउन महिला तथा बालबालिका मन्त्रालयलाई निर्देशन दिएको थियो । बाल संगठनका महासचिव समिक बडाल पर्याप्त ठाउँ नहुँदा संगठनमा रहेका बालबालिकालाई राख्न समस्या भइरहेको बताउँछन् । ‘हालै सरकारले बाल संगठन परिसरमा रहेका दुई स्कुलसमेत स्थानान्तरण गर्ने निर्णय गरिसकेको छ,’ उनी भन्छन्, ‘अख्तियारले भने संगठनको जग्गा छाड्न मानेको छैन ।’ गत साताको मन्त्रिपरिषद्को बैठकले संगठनका नाममा रहेका सबै सम्पत्ति अद्यावधिक गर्ने निर्णय गरेको थियो ।

सार्वजनिक निकायमा हुने अनियमितताको अनुसन्धान गर्ने जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटै अख्तियार दुरुपयोग हुँदै आएको छ । अनाथ तथा असहाय बालबालिकाको हितमा काम गर्दै आएको नेपाल बाल संगठनको जग्गामा ग्यारेज बनाएर अख्तियारले प्रयोग गर्दै आएको छ ।

नक्सालस्थित संगठनको केन्द्रीय कार्यालय परिसरको करिब पाँच रोपनी जग्गा चार वर्षदेखि आयोगले प्रयोग गर्दै आएको छ । जग्गामा टहरा बनाएर आयोगले आफ्नो ग्यारेज र पार्किङ बनाएको हो । सो जग्गा खाली गर्न पटकपटक संगठनले आयोगलाई पत्राचार गर्दै आएको छ । आयोगले दुई वर्षका लागि जग्गा प्रयोग गर्न दिए पनि चार वर्ष हुँदा पनि प्रयोग गरिरहेको र त्यसले समस्या भएको संगठनका महासचिव बडालले बताए ।

संगठनको तत्कालीन पदाधिकारीले दुई वर्षका लागि सो जग्गा प्रयोग गर्न दिएका थिए । त्यसबापत आयोगले संगठनलाई एउटा पुरानो गाडी सहयोग गरेको थियो । जुन गाडी केही महिनामै बिग्रिएको थियो । दुई वर्षको सम्झौता सकिएपछि पनि आयोगले जग्गा खाली गरेको छैन । अख्तियार जस्तो निकायबाटै भएको शक्तिको दुरुपयोगलाई धेरैले अनौठो मानेका छन् ।

प्रतिक्रिया दिनुहोस्