Logo
Logo

उपत्यकामा कोरोनाको उच्च जोखिम : सतर्कता अपनाउन सरकारको अपिल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ असोज । उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ ।
यही १९ असोजमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकको अन्य भूभागमा कोरोनाको प्रकोप विस्तारै नियन्त्रणउन्मुख हुँदै गएपनि काठमाडौँ उपत्यका अझैपनि उच्च जोखिम कायम रहेको बताए । पछिल्लो समय प्रत्येक दिन देखिने कूल संक्रमितमध्ये आधाभन्दा बढी संक्रमित संख्या उपत्यकामा रहेको छ । अहिलेसम्म उपत्यकामा कोरोना संक्रमण नियन्त्रण उन्मुख नदेखिएको हुनाले काठमाडौँवासीले असाध्यै धेरै सतर्कता अपनाउनुपर्ने जरुरी रहेको उनले बताए । ‘झण्डै ४० लाख बसोबास गर्ने उपत्यकामा यदि संक्रमण अनियन्त्रित भयो भने त्यसले हामीलाई निकै ठूलो जोखिममा पु¥याउनसक्ने अवस्था छ’ उनले भने ।
मन्त्री ज्ञवालीले काठमाडौँवासीलाई आफूले सेवा दिँदा वा लिँदा, व्यवसाय सञ्चालन गर्दा वा सहयोग पु¥याउँदा, सार्वजनिक यातायात वा निजी सवारीसाधनमा हिँडडुल गर्दा तथा अन्य कुनै प्रकारको गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन विशेष आग्रह गरेका छन् ।
उनले भने, ‘देशैभर क्रमशः कोरोना संक्रमण घट्दै गरेको अवस्थामा काठमाडौँ उपत्यकाको अवस्था अझैपनि उच्च जोखिममा छ । यो कुरालाई ध्यानमा राख्न सरकारकोतर्फबाट विशेष आग्रह गर्दछु ।’ उनले नेपालीको सबैभन्दा ठूलो चाड वडादशैँ नजिकिँदै गरेको अवस्थामा कोरोनाको थप जोखिम बढ्नसक्ने औँल्याउँदै सर्तकतामा ध्यान दिन आग्रह गरे ।
मन्त्री ज्ञवालीले भने, ‘दशैँको महत्वपूर्ण पक्ष भनेको पारिवारिक पुनर्मिलन र अग्रजबाट शुभाशिष लिने हो, तर यस्तो अवस्थामा परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ । त्यसो हुनाले दशैँ मनाउँदा आफ्ना अभिभावकको सुरक्षा संवेदशनीलतालाई असाध्यै ध्यानमा राख्न जरुरी छ ।’
विगतमा जस्तो गाउँगाउँबाट काठमाडौँ ओहोरदोहोर गर्दा संक्रमण फैलने जोखिम उच्च हुने भन्दै उनले टेलिफोनमार्फत आर्शिवाद लिन सकिने बताए । ‘परिवारका ज्येष्ठ सदस्य सुरक्षित रहनुभयो भने यस्ता अवसर पटकपटक आउँछन्’ उनले भने, ‘तर हाम्रो सानो लापरवाहीले उहाँहरुको स्वास्थ्यमा ठूलो जोखिम बढ्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्